न्हूदँ वर्षैभरि मनाउने परम्परा बसालौं–मन्त्री श्रेष्ठ

नव वर्ष नेपाल सम्वत् ११४१ आजदेखि प्रारम्भ भएको छ । दासत्व जीवन व्यतित गरिरहेका देशवासीलाई ऋणबाट मुक्त गरेर मुलुककै नामबाट शङ्खधर साख्वाले आजका दिन नेपाल सम्वत् स्थापना गर्नुभएको हो । लिच्छवी राजा राघवदेवको शासनकालमा साख्वाले गर्नुभएको अद्वितीय योगदानको कदर गर्र्दै नेपाल सरकारले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको छ । यसकै स्मरणमा हरेक वर्ष मङ्सिर ९ गते शङ्खधर दिवस मनाइँदै आइएको छ ।

नव वर्ष प्रारम्भ भएको अवसरमा आज भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा नेपाल सम्वत् ११४१ न्हूँद राष्ट्रिय समारोह समितिले एक शुभकामना सभाको आयोजना गर्यो । कोभिड–१९ महामारीका कारण सामाजिक दूरी कायम गरी सीमित व्यक्तिको सहभागितामा आयोजित सो सभामा शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नव वर्षको उत्सवलाई वर्षको एक पटक मात्र तामझाम गरी मनाउनुको साटो यसलाई वर्षैभरि निरन्तररुपमा मनाउनुपर्ने सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “नव वर्ष शुरु भएको केही दिन जुर्मुराउने र त्यसपछि सुस्ताउने हाम्रो बानी छ । यसलाई त्यागेर वर्षैभरि मनाउने परम्परा बसाल्नुपर्छ ।” नेपाल सम्वत् जनजनमा फैलाउन र चिरस्थायी बनाउन दीर्घकालीन योजना बनाउनुपर्ने पक्षमा प्रधानमन्त्री केपी शर्मा ओली स्वयं रहनुभएको जानकारी दिँदै उहाँले भन्नुभयो, “नेपाल सम्वत्को विषयमा तपाईँहरुबाट एक दीर्घकालीन प्रस्ताव आओस् ।”

नेवार समुदायको एकताको प्रतीक ‘मंकाः छेँ’ बनाउने अभियानमा काठमाडौँ महानगरपालिकाले सहयोग गरिरहेको र त्यसमा आवश्यक परे शहरी विकास मन्त्रालयले पनि सहयोग गर्ने प्रतिवद्धता मन्त्री श्रेष्ठले प्रकट गर्नुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले रानीपोखरीमा मङ्सिर ६ गते शङ्खधरको सालिक अनावरण गरिने जानकारी दिनुभयो । न्हूँद समारोह समितिका अध्यक्ष रमेश महर्जनको सभापतित्वमा भएको सभामा समितिका कोषाध्यक्ष अमृत ताम्राकारले नेपाल सम्वत् ११४० न्हूदँ समारोह समितिको वर्षभरिको आयव्ययको विवरण प्रस्तुत गर्नुभएको थियो ।

नव वर्ष प्रारम्भ भएको खुशीयालीमा बिहान बसन्तपुरबाट सांस्कृतिक ¥याली निकालेर काठमाडौँको भित्री शहर परिक्रमा गरी शुभकामना आदानप्रदान गर्ने गरिएकामा यस वर्ष कोभिड–१९ महामारीका कारण ¥याली निस्केन । प्रधानमन्त्रीको मुख्य आतिथ्यता बसन्तपुरमा गरिने सार्वजनिक समारोह यसपटक राष्ट्रिय सभागृहमा गरिएको हो । बसन्तपुरमा भने आज बिहान शङ्खधरको अद्र्धकदको प्रतिमा स्थापना गरी श्रद्धासुमन अर्पण गरिएको थियो । हरेक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन बेलुकी नेवार समुदायले मण्डल अगाडि बसी म्हः पूजा गर्ने गर्छन् ।

Facebook Comments