काठमाडौं । नियात्राकार नगेन्द्र न्यौपानेको ‘बर्मा र थाइल्याण्डभित्र नेपाल’ नामक कृति विमोचन भएको छ । नियात्रा समाज नेपालले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै कृतिको विमोचन गरेको हो ।
यो कृतिमा बर्मामा नेपाली कसरी पुगे र त्यहाँ उनीहरुको जीवनयापको अवस्था कस्तो छ भन्ने बारे चर्चा गरेको छ । नेपाली भाषा र साहित्यलाई बर्मामा बसेर पनि उनीहरुको माया अगाध माया रहेको छ । बर्मेलीहरु गर्वका साथ आफु बर्माको नागरिक भएको भएपनि तन मन नेपालमा रहेको अभिव्यक्ति यो कृतिले दिएको छ ।
बर्मा र थाइल्याण्डको तुलनात्मक अध्ययन र त्यहाँको अवस्था बारेमा जान्नका लागि यो कृति एउटा गाइड दस्तावेज हो भन्नु अतियुक्ति हुँदैन । कृतिमा उल्लेख भएका पक्षहरुको बारेमा कवि एवं निबन्धकार बोधराज पौडेलले समीक्षा, राधेश्याम लेकाली र युवराज नयाँघरेले शुभकामना व्यक्त गर्नु भएको थियोे ।
न्यौपानेका हराएका कैदीहरु, यात्राको बंगलादेश, अन्तिम घुट्को, An Odyssey in Cyclone, उल्टो रीस, दरबारबाहिरकी महारानी, Highway and Bridge Engineering, कङ्गो र इथिपियाको सेरोफेरो कृति प्रकाशित रहेका छन् ।
कार्यक्रममा राधेश्याम लेकाली, प्रतीक ढकाल, युवराज नयाँघरे, खेमराज पोखरेल, मोहन चापागाईं, अनुमप रोशी, शर्मिला खड्का दाहाल, मन्जिला अनिल, गीता रेग्मी, सूर्य बि.सी., सुजन तिमिल्सेनालगायतको उपस्थिति रहेको थियो । बिएन पुस्तक संसार र नियात्रा समाज, नेपालको संयुक्त आयोजनामा सचालन भएको कार्यक्रम नियात्रा समाज नेपालका अध्यक्ष प्रतीक ढकालको अध्यक्षता र यशोधा अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।