नेविप्रालाई यो निर्णयले घाटा हुँदैन

नेविप्राले १० प्रतिशत महशुल बृद्धिका लागि गरेको प्रस्तावमा विद्युत नियमन आयोगले उसले गरेको प्रस्ताव भन्दा फरक तरिकाले यसको दर निर्धारण गरिदिएको छ । यसरी मूल्य घट्नु र प्राधिकरणको अबको अवस्था कस्तो रहन्छ त ? यस बारे जलस्रोत डटकमले आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहसँग गरेको कुराकानीको केही अंश ।
विद्युत नियमन आयोगले असार १ गते विद्युत महशुल दर घटायो, यसको कारण के होला ?
हो, हामीले विद्युत महशुल दर १० प्रतिशतले घटाउने निर्णय गरेका छौ । यसको मुख्य कारण भनेको नेपाल विद्युत प्राधिकरण सरकारको स्वामित्वमा रहेको संस्था हो । र उसले कमाएको नाफाको केही हिस्सा जनताले पनि पाउन भन्ने उद्देश्यले यो निर्णय गरिएको हो ।
प्राधिकरण त घाटा देखाइरहेकोे छ । यस्तो बेला महशुल घट्दा नेविप्रा घरासायी हुँदैन त ?
विल्कुल हुँदैन । नेविप्राले पेश गरेको खर्च र कर्मचारी विवरणसमेतलाई केलाएर छलफल गरेर हामी यो निर्णयमा पुगेका हौ । बाह्य हल्ला गरे जस्तो उसको घाटा देखिएको छैन । हामीले तथ्यमा रहेर त्यसको सुक्ष्म अध्ययन गरेर मात्र यो निर्णय गरेका हौ । उसले नयाँ कर्मचारी भर्ना र निवृति भरणमा जाने कर्मचारीको पनि रकम माग गरेको छ । यो खर्च हामीले घटाएका हौ । नेविप्राले वार्षिक कारोवार ७७ अर्ब १३ करोड बराबरको सेल्सको प्रस्ताव गरेको थियो । त्यसलाई घटाएर ७० अर्ब ७० करोडको मात्र व्यापार गर्न सक्छौ भनेर हामीले भनेका हौ ।
नेविप्रालाई अझै पनि १ अर्ब ४३ करोड फाइदा नै रहेको छ । मात्रै के हो भने सरकारी स्वामित्वको संस्थाको प्रतिफलको फाइदा जनताले पनि पाउन भन्ने हाम्रो चाहना हो । उसले आफ्नो व्यवसायीकतालाई मात्र हेर्छ तर हामीले त समग्र राष्ट्र र जनतालाई हेर्नुपर्ने भएको हुनाले यो निर्णय गरिएको हो ।
यो निर्णयले ग्राहकवर्गमा उत्साह थपिएला त ?
पक्कै पनि । महशुल दर घटेका कारण ग्राहकवर्गले विद्युत प्रयोगलाई बढवा दिन्छन । ग्यास र अन्य आयातित पेट्रोलियम पदार्थ भन्दा अहिलेको विद्युत भरपर्दो र सर्वसुलभ बन्दै गएको छ । यस कारण पनि उत्साह बढ्छ भन्ने कुरामा म विश्वस्त छु ।

अहिले विद्युत व्यापारको अवस्था कस्तो छ । र खेर गइरहेको विद्युतलाई कसरी उपयोग गर्न सकिएला ?
पहिला जस्तो आफूले उत्पादन गरेको विद्युत उपयोग पनि आफैले गर्ने अवस्था अब रहेन । विद्युत व्यापार अब अन्तर्राष्ट्रियस्तरसम्म जानका लागि बाटो खुलिसकेको छ । यसको अर्थ के हो भने कम हुँदा अर्को देशबाट लिने र बढी भएको समयमा बेच्ने हो । यसका लागि आवश्यक नीति र योजना समेत बनेको हुनाले अबको विद्युत व्यापार राम्रो देखिन्छ ।
विद्युतीय पारवहनको बढ्दो उपयोग र अन्य विद्युतीय साम्रगीको उपयोग पनि बढिरहेको छ । जसले विद्युत खपत बढाउने छ । र, यसले पेट्रोलियम पदार्थको आयातमा पनि कमि ल्याउने विश्वास गर्न सकिन्छ । जसले गर्दा विद्युत व्यापारको बृद्धि दिनप्रतिदिन बढ्ने देखिन्छ । यो हाम्रा लागि एकदमै सुखद र राम्रो पक्ष हो ।

Facebook Comments