काठमाडाैं । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाबाट “नेतृत्व संवाद २०७७ (Leadership Dialogue 2077)” कार्यक्रम शुरु भएको छ । प्रधानसेनापतिको प्रत्यक्ष कमाण्डमा रहेका कार्यालय, विभाग, निर्देशनालय तथा आठ वटा पृतनाका पृतनापतिहरु एवं प्रधानसेनापति कार्यालयका स्टाफहरुलाई सहभागी गरी आजको कार्यक्रम संचालन गरिएको थियो । विगतका वर्षमा कमाण्डर, स्टाफ र फौजको विचमा प्रत्यक्ष (Face-to-Face) नेतृत्व संवाद गरिदै आएकोमा कोभिड-१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै कार्यक्रम VTC (Video Tele-Conference) मार्फत सञ्चालन गरिएको थियो ।
नेपाली सेनालाई पद्धति र प्रणालीमा आधारित सक्षम सङ्गठनको रुपमा स्थापित गर्दै लैजान तथा नेतृत्व वर्गलाई देश र जनता, सङ्गठन, मातहतका फौज र आफ्नो कर्तव्यप्रति जिम्मेवार बनाउने हेतुले २०७५ सालबाट “नेतृत्व संवाद कार्यक्रम“ शुरु गरिएको हो । २०७५ सालमा “सैनिक आचरण: संस्थाको अपेक्षा र मेरो जिम्मेवारी” तथा २०७६ सालमा “नैतिकता र सदाचार: नेपाली सेनाको आधार“ मूल सन्देशहरुमा आधारित भई विभिन्न संवाद शिर्षकहरुमा नेतृत्व संवाद सञ्चालन गरिएको थियो भने यस वर्ष, “सिपाहीको योगदान: राष्ट्र र राष्ट्रवासीको उत्थान (Our Contribution: for the People and the Nation)” मूल सन्देश सहित देहायका तीन संवाद शिर्षकहरुमा नेतृत्व संवाद गरिँदैछ ।
(क) “सैनिक तालिम: वृत्ति विकास/पदोन्नतिको लागि हो कि दक्षता र क्षमता अभिवृद्धिको लागि ?”
(ख) “योगदान र प्रतिफल: कुन बढी महत्त्वपूर्ण – मैले नेपाली सेनालाई के दिएँ कि नेपाली सेनाले मलाई के दियो ?”
(ग) “व्यक्तिगत र व्यवसायिक सम्बन्ध: कर्तव्यपरायणता र वफादारिता संस्थाप्रति कि व्यक्तिप्रति ?”
यो नेतृत्व संवाद कार्यक्रम प्रधानसेनापतिबाट प्रत्यक्ष मातहतका कार्यालय/विभागीय प्रमुख, पति तथा स्टाफहरुसँग सुरु भई प्रधानसेनापतिको संवादमा सहभागीहरुबाट आफु मातहतका अधिकृत, पदिक तथा अन्य दर्जासँग तहगत र क्रमिक रुपमा नेपाली सेना भरि नै २०७७ चैत्रभित्र सम्पन्न हुने गरी सञ्चालन गरिने छ । नेपाली सेनामा विद्यमान रहेका विभिन्न अभ्यास र प्रवृत्तिहरु सम्बन्धमा सबै तहमा खुला अन्तर्क्रिया एवम् छलफल गरी सङ्गठन हित विपरीतका विकृति र विसङ्गतिहरु हटाउँदै नेतृत्व वर्ग लगायत सकल दर्जामा सैनिक आचरण, अनुशासन, मुल्यमान्यता र नैतिकतामा थप विकास गर्ने लक्ष्य सहित यस किसिमको नेतृत्व संवाद कार्यक्रम शुरु गरिएको हो ।
अनुशासित, क्षमतावान, चरित्रवान एवम् निष्ठावान सैनिक व्यक्ति, स्थायी र गतिशील पद्धति र प्रणाली मार्फत् नेपाली सेनालाई भरपर्दो, विश्वसनीय साथै सक्षम सङ्गठन निर्माणमा यस नेतृत्व संवाद कार्यक्रमले दिशानिर्देशन गर्नुको साथै अबको “सुदृढीकरण र दीगोपनाको वर्ष (Year of Consolidation & Sustainment)” मा पद्धति र प्रणालीहरुलाई थप सुदृढ र मजबुत बनाउन सकलदर्जामा थप उर्जा समेत सञ्चार हुने विश्वास नेपाली सेनाले लिएको छ ।