नुन र मुटु रोगको सम्बन्ध-डा. राजेन्द्र कोजु

काठमाडौँ/नुन हाम्रो भान्छाको एक अपरिहार्य वस्तु हो । हामीले बिहानको नास्तादेखि खाना, दिउँसोको खाजा र साँझको खानामा नुनको प्रयोग गरेकै हुन्छौँ । अझ भनौँ नुन हाम्रो जिब्रोको स्वाद हो, जसको अभावमा हामीले खाने भोजन स्वादिष्ट हुँदैन । नुनको अभावमा शरीरमा आलस्यता आउने मात्र होइन, स्वास्थ्यमा अनेक समस्या हुने गर्दछ ।

नुन हाम्रो संस्कृतिसँग पनि जोडिएको छ । जुठो बार्दा नुन नखाने, कतिपय पूजाआजामा अनिवार्य प्रयोग गरिन्छ । यसरी हाम्रो शरीरका लागि अपरिहार्य नुन किन फेरि हानिकारक छ त भन्ने प्रश्न पनि उठ्ने गर्दछ । ठिक्क हुँदा ठीक, बेसी हुँदा हानिकारक हुने भएकाले नुनको प्रयोगमा ध्यान दिनुपर्छ । दैनिक कति नुन हाम्रो शरीरका लागि आवश्यक हो त भन्ने कुरा व्यक्तिको जीवनशैली, ठाउँ र स्वास्थ्य अवस्थाले पनि केही फरक पार्न सक्छ । सामान्यतः दैनिक दुईदेखि तीन ग्रामसम्म नुन (सोडियम) सेवन गर्नु उपयुक्त हुन्छ । बढीमा पाँच ग्राममा सीमित रहनेगरी खान सकिने भन्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पनि भनेको छ ।

मुटुसँगको सम्बन्ध
नेपालमा नुन सेवन र मुटु रोगको सम्बन्ध गम्भीर चिन्ताको विषय बनेको छ । आयोडिनयुक्त नुनले थाइराइड जस्ता रोग नियन्त्रण गर्न सहयोग पु¥याए पनि यसको अत्यधिक सेवनले मुटु रोगलाई निम्त्याउन सक्छ । यहाँका मानिसको जीवनशैली, खानपान र स्वास्थ्य शिक्षाको अभावका कारण नुनको अत्यधिक सेवन र यसको कारणले हुने मुटु रोगका समस्या बढ्दो क्रममा छन् । हाम्रो स्वास्थ्यका लागि दुईदेखि तीन ग्राम उपयुक्त हुन्छ तर अधिकांश नेपालीले दैनिक पाँच ग्रामभन्दा धेरै नुन सेवन गर्ने गर्छन् । विशेषगरी अचार, तिख्खर खानेकुरा, तथा प्रशोधित खानेकुराहरू जस्तै, लेज, कुरकुरे, चाउचाउ आदिमा उच्च मात्रामा नुन हुन्छ । ग्रामीण क्षेत्रमा प्राकृतिक खानाको प्रयोग भए पनि, सहरी क्षेत्रमा प्रशोधित खाना र फास्ट फुडको लोकप्रियताले नुन सेवनको दर उच्च देखिएको छ ।

नुन र मुटुरोग बीचको सम्बन्ध धेरै अध्ययनहरूद्वारा पुष्टि भएको छ । नुनमा सोडियमको मात्रा धेरै हुन्छ । अत्यधिक सोडियमले शरीरमा पानी थुप्रिने (पानी धारण गर्ने) समस्या उत्पन्न गराउँछ, जसले गर्दा रक्तचाप बढ्छ । रक्तचापले मुटु र रक्तनलीहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्न सक्छ । उच्च रक्तचाप (हाइपरटेन्सन) मुटु रोगको प्रमुख जोखिम कारक हो । नेपालमा हृदय रोग मृत्युको प्रमुख कारणमध्ये एक हो । उच्च रक्तचाप र यसका कारण मुटु रोग हुने समस्या नेपालमा तीव्र रूपमा बढ्दै छ । डब्लुएचओका अनुसार, नेपालमा लगभग ३० प्रतिशत वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छ ।

लामो समयसम्म उच्च रक्तचाप रहिरहेमा मुटुको मांसपेशीमा अनावश्यक दबाब पर्छ । यसले मुटुको असमान्य कार्यक्षमता, हृदयाघात र स्ट्रोकजस्ता समस्या निम्त्याउन सक्छ । नुनको अत्यधिक सेवनले धमनीहरूलाई सख्त (अथेरोस्क्लेरोसिस) बनाउँछ । यो प्रक्रियाले रक्तप्रवाहलाई अवरुद्ध गर्नसक्छ, जसले मुटुमा अक्सिजनको अभाव गराउँछ । धेरै नुन सेवन गर्ने व्यक्तिहरूमा पानी र सोडियमको सन्तुलन बिग्रन सक्छ । यसले मुटुको काम गर्न कठिन बनाउँछ, जसले मुटुको विफलताको सम्भावना बढाउँछ । नेपालमा स्वास्थ्य मन्त्रालयः उच्च रक्तचाप र मुटु रोग नियन्त्रणका लागि केही कार्यक्रम र जनचेतनामूलक गतिविधि गर्दै आएको छ । नुनको उपभोग कम गर्ने रणनीति बनाउन डब्लुएचओले नेपाल सरकारसँग सहकार्य गरिरहेको छ ।

अन्य देशमा नुनको प्रयोग
सामान्यतः अधिकांश देशहरूमा औसत नुन सेवन डब्लुएचओको सिफारिस (पाँच ग्राम प्रतिदिन) भन्दा धेरै उच्च छ । विकसित देशहरूले यसबारे धेरै सुधार गरेका छन्, तर विकासशील देशहरूमा अझै जनचेतना र नीतिगत हस्तक्षेप आवश्यक छ । ती देशहरूमा नुनको प्रयोग जनसङ्ख्या, संस्कृति, खानपान र जीवनशैलीका आधारमा फरक छ । विकसित देशहरूमा नुन सेवनमा कमी ल्याउने प्रयास भइरहेको छभने धेरै विकासशील देशहरूमा अझै अत्यधिक नुन सेवन चुनौतीपूर्ण रहेको छ ।

विश्वका विकसित देशहरूमा नुनको प्रयोग कम गर्न राज्यस्तरबाटै पहलहरु भएको पाइन्छ । अमेरिकी सरकारले नुनको प्रयोग कम गर्न जनचेतना अभियान र खाद्य उद्योगमा नयाँ मापदण्ड लागू गरिरहेको छ । ल्याटिन अमेरिका मुलुकहरु ब्र्राजिल, मेक्सिको, अर्जेन्टिनाजस्ता देशहरूमा औसत नुन सेवन उच्च (८–११ ग्राम प्रतिदिन) छ । बेलायत, फिनल्यान्ड, डेनमार्कलगायत युरोपेली देशहरूमा नुन सेवन कम गर्न ठूला अभियान सञ्चालन गरिएको छ । बेलायतमा नुन सेवन कम गर्न पब्लिक हेल्थ इङ्ल्यान्डले फुड म्यान्युफ्याक्चरर्सलाई प्रशोधित खानामा नुन घटाउन निर्देशन दिएको छ । फिनल्यान्डः फिनल्यान्डले १९७० को दशकदेखि ‘लो–सोडियम खाना’ को प्रवद्र्धन गरेर नुन सेवनलाई ३० प्रतिशतले कम गरेको छ । सरकारले जनचेतना र ‘लो–सोडियम सोया सस’ को प्रवद्र्धन गरेर सुधार गर्ने प्रयास गरेको छ ।

छिमेकी मुलुक चीनमा औसत नुन सेवन १०–१२ ग्राम प्रतिदिन रहेकाले त्यसलाई घटाउन सरकारले जनचेतना कार्यक्रम सञ्चालन गरेको छ । भारतीयहरूको औसत दैनिक नुन सेवन ८–१० ग्राम गरिरहेका छन् । सरकारको ध्यान आयोडिनयुक्त नुन प्रवद्र्धनमा केन्द्रित रहेकाले, नुन कम गर्ने पहल भएको देखिँदैन । स्वास्थ्य शिक्षाको कमीले गर्दा अधिकांश अफ्रिकी देशहरूमा नुन सेवनको स्तर उच्च छ । भूटान, पाकिस्तान, अफगानिस्तान, श्रीलङ्काका ग्रामीण र सहरी क्षेत्रमा नुनको अत्यधिक प्रयोग देखिन्छ ।

कसरी स्वस्थ्य हुने त ?
नुन र मुटु रोगबीचको सम्बन्धबारे जनचेतना अभिवृद्धि गर्नु आवश्यक छ । प्रशोधित खाना, जस्तैः चिप्स, तयारी खाना (जङ्क फुड), डिब्बामा बन्द गरिएका खाना आदिमा सोडियम धेरै हुनेहुँदा यस्ता खानेकुराहरुबाट टाढै बस्नु उपयुक्त हुन्छ । नियमित व्यायाम, सन्तुलित आहार र तनाव व्यवस्थापनले मुटु रोगको जोखिम कम गर्न मद्दत गर्छ । यदि तपाईंमा मुटु रोग वा उच्च रक्तचापको इतिहास छभने चिकित्सकसँग परामर्श गरेर नुन सेवनको उचित सीमा निर्धारण गर्नु अत्यन्त महत्वपूर्ण छ ।

घरमा खाना पकाउँदा नुनको मात्रा नियन्त्रण गर्नु र बाहिरका प्रशोधित खानेकुरा कम गर्नुपर्छ । यसका लागि धेरै किसिमका तरकारीको सट्टा एक वा दुई किसिमका तरकारी वा दालको प्रयोग गर्ने, सागपातहरुमा नुनको प्रयोग नगर्ने, एउटा तरकारीमा नुन राखेमा अर्कोमा नराख्नेजस्ता तरिका पनि अपनाउन सकिन्छ ।

नियमित रूपमा रक्तचाप जाँच गर्न र मुटु रोगको प्रारम्भिक उपचार सुनिश्चित गर्ने गरिएमा मुटुजन्य स्वास्थ्य समस्या आउन पाउँदैन । स्थानीय, ताजा र सन्तुलित खाना खाने बानी बसाल्नु, व्यायाम गर्नु र धुम्रपान तथा मद्यपान त्याग्नु जरुरी छ ।

निष्कर्ष
नुन र मुटु रोगको समस्या समाधानका लागि व्यक्तिगत, सामाजिक, र सरकारी तहमा सुधारात्मक कदम उठाउन आवश्यक छ । अन्य देशहरुमा जस्तै नेपालमा पनि नुनको मात्रा घटाउन खाद्य उद्योगलाई मापदण्डअनुसार उत्पादन गर्न निर्देशन दिनुपर्ने देखिन्छ । कम नुन खाएर, स्वस्थ जीवनशैली अपनाएर र जनचेतना अभिवृद्धि गरेर यस समस्या नियन्त्रण गर्न सकिन्छ । बालबालिकाहरुलाई घरमा नुनको अधिक सेवनको बेफाइदाबारे जानकारी दिने र विद्यालयमा पनि तयारी खानालाई निषेध गर्ने तथा पाठ्यक्रमहरुमा यसबारेमा वियषयवस्तुहरु समावेश गर्न आवश्यक छ । (‘मुटुको कथा’ पुस्तकका लेखक वरिष्ठ मुटुरोग विशेषज्ञ डा कोजुसँग गरिएको कुराकानीमा आधारित)

आलेखः ओझेलमा भक्तपुरका चारधाम-लक्ष्मी गारु
भादगाउँ, १४ माघः ख्वप लाय्कू (भक्तपुर दरबार स्क्वायर) परिसरमा अवस्थित पवित्र तीर्थस्थल चारधाम देवस्थल ओझेलमा परेको छ । ख्वप लाय्कूको दक्षिण पश्चिममा अवस्थित चारधामका पाँचै देवस्थल मल्लकालीन राजाहरुको पालामा निर्माण गरिएको भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो ।

भक्तपुरमा चारधामका पाँच देवस्थल रहेका छन् । ख्वप लाय्कू प्रवेश गर्ने मुख्य प्रवेशद्वार खौमा ढोकाको दक्षिणतर्फ रहेको चारधामअन्तर्गत बद्रीनाथ, जगन्नाथ, केदारनाथ, द्वारिकानाथ (गोपीनाथ) र रामेश्वर महादेवको देवस्थल रहेको छ । भक्तपुरको ख्वप लाय्कूमा अवस्थित तलेजु भवानीसहित चारधामका पाँच देवस्थलका देवीदेवताको श्रद्धापूर्वक नियमित पूजापाठ गर्नाले मृत्युपछि बैकुण्ठबास हुने धार्मिक विश्वास स्थानीयहरुको रहेको छ ।

चारधामका सबै देवलमा दैनिक बिहान नित्य पुजा हुन्छ । दिनभरि बन्द हुने यी देवलहरुमा नित्य पुजाका क्रममा मन्दिरभित्रै गएर पूजाआजा र दर्शन गर्न पाइने द्वारिकानाथका पुजारी विनोदराज शर्माले बताउनुभयो । “प्रचार–प्रसार नहुँदा भक्तपुरमा चारधाम छ भन्ने नै आमनागरिकलाई जानकारी छैन । यहाँका स्थानीय पनि खासै पूजाआजा र दर्शन गर्न आउँदैन,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार द्वारिकानाथको मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाको दिन नसा (भुटेको मकै, गहँु, लाभा, भटमास) ले भगवान्को आकृति बनाई पूजा गर्ने परम्परा रहेको छ । त्यसैगरी वर्षको एक दिन पुरोहित राखेर रुद्री पूजा गरी केदारनाथको बुसादाँ (जन्मदिन मनाउने) गर्ने परम्परा छ ।

चारधाममा बालाचतुर्थीमा सत्बिज छर्ने परम्परा पनि छ । मल्लकालदेखि चल्दै आएको यो परम्परा अहिले पनि कायमै रहेको पुजारी शर्मा बताउनुहुन्छ । चारधाममा महास्नान गराउने परम्परा भने लोप भइसकेको छ । शिखर शैलीमा दाँचीअप्पाले निर्मित देवस्थलको गर्भगृहमा डेढ फिट अग्लो भगवान् विष्णुको मूर्ति छ । मन्दिरमा ढुङ्गाको कलात्मक थाम, कलात्मक काठको ढोका र अगाडि एक जोडा सिंह रहेको छ ।

जगन्नाथ मन्दिर राजा भूपतिन्द्र मल्लकै पालामा निर्माण गरिएको हो । यस मन्दिरमा बायाँ सेतो बलराम, बीचमा रातो सुभद्रा दायाँ, नीलो कृष्णको काठको मूर्ति रहेको छ । यी तीन देवीदेवताको संयुक्त नाम जगन्नाथ हो । हाल यस मन्दिरको पुनःनिर्माण कार्य भइरहेको छ ।

केदारनाथ मन्दिरमा पशुपतिमा जस्तै जलहरी भएको शिवलिङ्ग स्थापना गरिएको छ । राजा भूपतिन्द्रको समयमा निर्माण गरिएको यो मन्दिर पनि दाँचीअप्पाले शिखर शैलीमा निर्माण गरिएको छ । मन्दिरको चारै दिशामा चारवटा बुर्जाहरु जडित एकादश रुद्रका सुनमोलम्बा लगाएको धातुको शिरोभाग मूर्तिहरु, कलात्मक ढुङ्गाको थाम र धातुको गजुरले बनेको छ । मन्दिरको अगाडि ढुङ्गेधारा र पश्चिममा साँढे रहेको छ ।

द्वारिकानाथ (गोपीनाथ)मन्दिर दुईतल्ले झिँगटीको छाना र सुनको मोलम्बा गजुर भएको मन्दिर हो । काठका कलात्मक भ्mयाल ढोकाहरुले निर्मित मन्दिरमा दायाँबायाँ नृत्य मुद्रामा रहेको कृष्णका जेठी र माइली श्रीमती सत्यभामा र रुकुमणीको बीचमा महाविष्णु ध्यानमा रहेका कृष्णको मूर्ति छ । यसमा माथिको दुई हातमा शङ्ख र गदा र तलको दुई हातले बाँसुरी समाएको छ । दुई गाईमाथि खुट्टा टेकेर आसन बनाएको छ । मूल प्रवेश अगाडि गरुडध्वज स्तम्भ रहेको छ ।

त्यसैगरी, रामेश्वर मन्दिर जलहरीसहितको शिलाको शिवलिङ्ग भएको मन्दिर हो । छ फिट अग्लो प्लेटफर्मको बीचमा शिवलिङ्ग भएको यस मन्दिर चुनासुर्की प्लास्टरले ढलान गरी घोप्टिएको कमलको फूलको आकारका छाना भएको नाग शैलीको मन्दिर हो । यस मन्दिरमा जलहरीसहितको शिवलिङ्ग र शिलाका कलात्मक थामहरु छन् ।

चारधामका रुपमा प्रख्यात देवस्थलमा द्वारिकानाथ, केदारनाथ, बद्रीनाथ र जगन्नाथ पर्दछ । भारतमा चारधाम यात्राका बेला हिउँदमा केदारनाथ जान नसक्ने अवस्थामा रामेश्वरको दर्शन गर्ने प्रचलन रहेको छ । सोही अनुसार भक्तपुरमा चारधाम निर्माण गर्ने क्रममा केदारनाथसँगै रामेश्वरको पनि देवस्थल निर्माण गरिएकाले पाँचवटा धाम रहन गएको पुजारी शर्माले बताउनुभयो ।

मल्लकालमा राजधानी सहरको शोभा, सम्पदाको सम्पन्नता बढाउन निर्माण गरिएको चारधामको देवस्थलहरुको नित्य र पर्व पूजा गुठी संस्थानमार्फत सञ्चालनमा छन् । त्यसैगरी, मर्मतसम्भार कार्यका लागि स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय र भक्तपुर नगरपालिकाबाट भइरहेको छ ।

भारतमा जान नसक्ने तथा आर्थिक अवस्था कमजोर भएका र असहाय अशक्तलाई आफ्नै ठाउँमा चारधाममा दर्शन एवं पूजा गर्न सहज भएको छ । आर्थिक रुपले कमजोर, कार्य व्यस्तताले भारतमा जान नसक्नेहरु, वृद्धवृद्धा, बालबालिकाहरुका लागि यही दर्शन पूजन गराउने उद्देश्यले तत्कालीन राजधानीको मुटु भक्तपुरको लाय्कूमा यी देवलहरुको तान्त्रिक विधिपूर्वक प्राण प्रतिस्था गरी स्थापना गरिएको इतिहास तथा संस्कृतिविद् प्राडा पुरुषोत्तम लोचन श्रेष्ठ बताउनुहुन्छ ।

भक्तपुरमा चारधाम स्थापना गर्र्नुको अर्को कारण तत्कालीन शैव र वैष्यमा कुनै भेदभाव छैन भन्ने सन्देश दिनु पनि रहेको किंवदन्ती रहेको छ । तत्कालीन समयमा शिवका अनुयायी शैव समुदाय र विष्णुका अनुयायी वैष्य समुदायबीच केही मतभिन्नता रहेको अवस्थामा नेपाल मण्डलमा त्यस्तो कुनै बेमेल छैन भन्ने सन्देश दिन दरवार क्षेत्रभित्र चारधामका पाँच देवलको निर्माण गरिएको हुनसक्ने प्राडा श्रेष्ठको कथन छ ।

विष्णुको लोकप्रियता अत्यन्त बढेको त्यतिबेला सामाजिक एकता र सद्भाव झल्काउन एकै स्थानमा चारधाम निर्माण गरेको उहाँको भनाइ छ । “धार्मिक समन्वय सांस्कृतिक एकता र सद्भावको एउटा उत्कृष्ट उदाहरण हो चारधाम । शिव र विष्णुमा कुनै भेदभाव छैन भन्ने भाव यसले दिन खोजेको छ,” प्राडा श्रेष्ठले भन्नुभयो ।

मल्लकालमा राजधानी सहरको शोभा, सम्पदाको सम्पन्नता बढाउन निर्माण गरिएको चारधामको देवस्थलहरु नृत्य र पर्व पूजा गुठी संस्थानमार्फत सञ्चालनमा छन् । त्यसैगरी, मर्मतसम्भार कार्यका लागि स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय र भक्तपुर नगरपालिकाबाट भइरहेको छ । चारधामअन्तर्गत बद्रीनाथ, जगन्नाथ र केदारनाथको देवल १९९० सालको भूकम्पले केही क्षति पु¥याएको थियो । केदारनाथको गजुरको भागमा क्षति भएर जीर्णोद्धार गरिएको थियो । त्यसपछि २०७२ सालको भूकम्पले पनि केदारनाथको देवलको आधा भाग भत्काए पनि भक्तपुर नगरपालिकाले पुनर्निर्माण गरिसकेको छ ।

पछिल्लो अनुसन्धानका क्रममा नेपाल संवत् ३४७ मै जगन्नाथको जीर्ण प्रतिमा फेरिएको पुरानो अभिलेखमा फेला परेको प्राडा श्रेष्ठले बताउनुभयो । “जगन्नाथको देवल राजा यक्ष मल्लको भन्दा पहिला आन्नदेवको समयतिर १२औँ शताब्दीमा स्थापना भएको अनुसन्धानले देखाएको छ । त्यो समय नेपाल मण्डलमा जगन्नाथको मुख्य केन्द्र भक्तपुर र त्यसपछि चारधाम कान्तिपुर र ललितपुरमा विस्तार भएको हो,” उहाँले भन्नुभयो ।

भारतको सिक्किममा केही वर्षअघि निर्माण गरेको चारधामको प्रचारप्रसारले अहिले पश्चिम सिक्किममा वार्षिक लाखौँ धार्मिक पर्यटक दर्शनका लागि जाने गरेका छन् । भक्तपुरमा भएको चारधामको पनि प्रचारप्रसार गरी दैनिक रुपमा दिनभरि भक्तजनले दर्शन गर्नसके वार्षिक लाखौँ भक्तजन आउने र यसले आन्तरिक र बाह्य पर्यटन विकासमा थप टेवा पुग्ने देखिन्छ ।

बाढीपहिरोः रोशीद्वारा क्षतिग्रस्त गौरवका आयोजना पुनर्निर्माणको माग-राजकुमार पराजुली

काभ्रेपलाञ्चोक, १४ माघः रोशी गाउँपालिकाले निर्माण भइरहेका ‘गौरवका आयोजना’ गत असोज दोस्रो साता बाढीपहिरोबाट क्षतिग्रस्त भएपछि पुनर्निर्माणका लागि माग गरेको छ । गाउँपालिकाले निर्माणाधीन एवं निर्माण सकिएका तीन ठूला गौरवका आयोजना पुनर्निर्माण गर्न सम्बन्धित निकायलाई पत्राचारमार्फत माग गरेको हो ।

गत असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीपहिरोका कारण गाउँपालिकामा निर्माण सम्पन्न भएका तीन ठूला आयोजनामा पूर्ण रुपमा क्षति पुगेको थियो । गाउँपालिका अध्यक्ष दिनेश लामाले ‘गौरव’का योजना मानिएका तीन आयोजनाको पुनर्निर्माणका लागि सङ्घ सरकारलाई पत्राचार गरिएको बताउनुभयो । उहाँका अनुसार नेपाल सरकारको सम्बन्धित मन्त्रालयले क्षतिग्रस्त ती आयोजनाको प्रक्रिया अघि बढाउने आश्वासन दिएका छन् ।

बाढीपहिरोले वडा नं ११ स्थित कालढुङ्गामा करिब ७० रोपनी जमिनमा निर्माण गरिएको तामाङ जातिको विशेषता झल्कने ‘डम्फु जीवन्त सङ्ग्रहालय’सहितको पार्क रोशी खोलाले बगाएको छ । सङ्ग्रहालयमा तामाङ जातिको रहनसहन, वेशभूषा, संस्कृति, रीतिरिवाज तथा सो समुदायले प्रयोग गर्ने सामग्री तथा पुस्तक राख्ने तयारी गरिएको थियो । लामाका अनुसार निर्माण सम्पन्न भएको नौ डायमिटरको डम्फु, सङ्ग्रहालय भवन, पुस्तकालय भवन, वनभोजस्थल, पार्किङस्थल र बगैँचा रोशी खोलाको बाढीले बगाएको थियो ।

रु १४ करोडको लागतमा निर्माण सम्पन्न गर्ने योजना बनाइएको सङ्ग्रहालय भवन निर्माणमा नेपाल सरकारको रु पाँच करोड तथा गाउँपालिकाको रु ३८ लाख ६९ हजार खर्च भएको थियो । करिब अन्तिम चरणमा रहेको पार्कका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाले रु पाँच लाख विनियोजन गरेको थियो ।

सङ्ग्रहालय हाताभित्र करिब रु दुई करोडमा निर्माण गरिएको औद्योगिक ग्रामको प्रशासनिक भवन तथा शीतभण्डार र खानेपानी आयोजनाका संरचना पनि बाढीले बगाएको थियो । उद्घाटनको तयारी भइरहेको ग्रामको संरचना जगैदेखि बाढीले बगाएको छ ।

यस्तै, १ नं वडामा निर्माणको अन्तिम चरणका पुगेको १० शय्याको आधारभूत अस्पतालको भवनसमेत बाढीले बगाएको थियो । नेपाल सरकारको रु छ करोड पाँच लाख २४ हजार लागतमा सम्पन्न हुने अस्पतालको संरचना सम्पन्न गर्न आगामी पुस मसान्तसम्मको समयसीमा थियो ।

यसैगरी, रोशी–११ कालढुङ्गामा करिब ७० रोपनी क्षेत्रफलमा तयार भएको चिस्यान केन्द्रसहित औद्योगिक ग्रामको प्रशासनिक भवनसहितको संरचना पनि बाढीले बगाएको छ । सङ्घीय सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा निर्माण हुने ग्रामका लागि नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको रु एक करोड ६८ लाख र गाउँपालिकाको रु ५४ लाख गरी रु दुई करोड २२ लाख खर्च भइसकेको थियो ।

बाढीपहिरोमा परी उक्त गाउँपालिकामा छ महिला, तीन पुरुष, एक बालक र तीन बालिका गरी १३ जनाको मृत्यु भएको थियो भने चार सय ८२ घर पूर्ण रुपमा तथा आठ सय ८३ घरमा आंशिक रुपमा क्षति पुगेको थियो । गाउँपालिका कार्यालयको तथ्याङ्कअनुसार बाढीपहिरोले दुई हजार पाँच सय ४४ परिवारको खेतबारीमा क्षति पुगेको थियो भने एक सय ६० खानेपानी आयोजना, एक पक्की पुल, ४७ विद्यालय र चार स्वास्थ्य केन्द्रमा क्षति पुगेको थियो ।

यसैबीच, गाउँपालिकाले घर पूर्ण रुपमा क्षति भएका परिवारका लागि अस्थायी आवास निर्माण थालेको छ । पहिलो चरणमा घर पूर्ण रुपमा क्षति भएका परिवारका लागि अस्थायी आवास निर्माण थालिएको गाउँपालिकाले जनाएको हो । गाउँपालिका अध्यक्ष लामाका अनुसार विभिन्न दाता संस्थाको सहयोगमा वडा नं २ बाट अस्थायी आवास निर्माणको काम सुरु गरिएको तथा वडा नं ९ को नार्के आसपासको क्षेत्रमा हालसम्म ५० वटा निर्माण भइसकेको छ । हाल वडा नं २ मै थप पाँच घर निर्माणाधीन अवस्थामा रहेको लामाले बताउनुभयो ।

उक्त गाउँपालिकाले विपद् व्यवस्थापनका लागि गत कात्तिक ३० गते नै विशेष गाउँसभामार्फत चालु आर्थिक वर्षमा योजनाका लागि विनियोजित बजेटबाट केही प्रतिशत कटौती गर्ने निर्णय गरेको थियो । गाउँपालिकाले विपद्सँग सम्बन्धित बनाएर दुई सय ६६ योजना संशोधन गरेको छभने विपद् कोष रु दुई करोड ८० लाखको बनाएको जनाएको छ । कोषको रकमले स्थानीय तहमा अत्यावश्यक विपद् खर्च, बाढीपहिरोले पु¥याएको क्षतिको तथ्याङ्क सङ्कलन, राहत वितरणलगायत विविध शीर्षकमा खर्च गर्नेगरी संशोधन गरिएको गाउँपालिकाले जनाएको छ ।

Facebook Comments