नीति तथा कार्यक्रमले लक्षित गरेको क्षेत्र

काठमाडौं । सरकारले आव २०७७।०७८ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारको नीति तथा कार्यक्रमले सामाजिक, आर्थिक क्षेत्रलाई पुनर्जीवन दिदैे स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानका कार्यक्रम सञ्चालन गर्ने कार्यक्रममा उल्लेख छ ।
यतिबेला कोरोनाको कहरबाट विश्व नै आर्थिक तथा सामाजिक रुपमा प्रभावित भइरहेका छ । यस्तो विषम परिस्थितिमा सरकारले शुक्रबार वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरी चार क्षेत्रलाई विशेष जोड दिने जनाएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनलाई संयुक्त बैठकमा सम्बोधन गर्दै नीति तथा कार्यक्रममा कोरोनाबाट देशलाई मुक्त बनाउने प्राथमिकता दिइएको छ ।
कोरोनाबाट देशलाई मुक्त बनाउने, त्यसबाट प्रभावित आर्थिक, सामाजिक क्षेत्रलाई पुनर्जीवन दिने विभिन्न कार्यक्रम घोषणा गरेको छ । कोरोनाले विश्वलाई नै प्रभावित पारेका कारण वैदेशिक सहयोग कम आउन सक्ने सरकारले आँकलन गरेको छ ।
‘अबको कार्यदिशा स्वास्थ्य, शिक्षा, रोजगारी तथा आर्थिक पुनरुत्थान हुनेछ’, सरकारको कार्यक्रममा उल्लेख छ, ‘जुन लक्ष्य, योजना र गतिका साथ अघि बढ्न खोजिएको हो सो गर्न नसक्दा विकासको आकांक्षा र गतिमा धक्का पुगेको छ ।’
कृषि तथा औद्योगिक उत्पादन, रोजगारी सिर्जना, विकास निर्माण कार्य र सामाजिक जनजीवनमा थप क्षति हुन नदिई सो कार्यक्रमलाई तीव्रता दिने सरकारको नीति छ । क्षेत्रगत तथा राष्ट्रियस्तरका कार्यक्रम र आयोजना तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिबद्धता गरेको छ । कार्यक्रममा आयोजनाहरूको पुनः प्राथमिकीकरण गर्ने, फजुल खर्च घटाउने, वित्तीय अनुशासन कायम गर्ने र रोजगारमूलक क्षेत्रमा लगानी केन्द्रित गर्ने उल्लेख छ ।
अन्तर्राष्ट्रिय श्रम बजार संकुचित भई रोजगारीका अवसर गुम्ने जोखिम रहेको हुनाले स्वदेशमै रोजगारीका कार्यक्रम सञ्चालन गर्ने, कोरोनापछिको थप रणनीति र कार्ययोजना तयार गरी क्षेत्रगत विशेष कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
‘मानिसको जीवनरक्षा र मानव जातिको संरक्षण सरकारको सर्वोच्च कर्तव्य हुन आएको छ’, सरकारको कार्यक्रममा लेखिएको छ, ‘स्पष्ट रणनीति, समन्वयात्मक कार्यशैली एवं आम नेपाली जनताको एकता, धैर्य र सहयोगले अहिलेसम्म यस रोगको संक्रमणबाट नेपालभित्र सबैको जीवन रक्षा गर्न सफल भएका छौ ।’ सरकारले कार्यक्रम सबै आफ्नो सफलता देखाउने गरी प्रस्तुत गरेको छ ।
दुई वर्षकै अवधिमा उत्साहजनक उपलब्धि हासिल भएको दाबी सरकारले गरेको छ । सामाजिक विकास, भौतिक प्रगति र चौधभन्दा बढी विश्व सूचक तथा सूचकांकमा हासिल गरेका प्रगतिले समृद्ध नेपालको बलियो आधारशिला निर्माण भएको छ ।

Facebook Comments