‘दोस्रो सैनिक आचार संहिता २०७७’ को समापन

काठमाडाैं । साताव्यापी रुपमा संचालन भएको ‘दोस्रो सैनिक आचार संहिता २०७७’ सप्ताहको आज बलाधिकृत रथी प्रभुराम शर्माले एक विशेष समारोहका बीच जङ्गी अड्डास्थित श्री त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डप हलमा समापन गर्नुभएको छ ।
रथी शर्माले संविधान प्रदत्त जिम्मेवारीलाई निसङ्कोच बहन गर्नको निमित्त कटिवद्ध नेपाली सेनाको सबैभन्दा सुक्ष्म इकाईको रुपमा रहेको व्यक्तिले आफू स्वयंलाई नैतिकवान, चरित्रवान, पेशेवर र उर्जाशिल बनाउनु पर्ने बताउनु भएको थियो । उहाँले कार्य सम्पादनको सिलशिलामा आउन सक्ने दुविधाहरुलाई निराकरण गर्न सबैले आफ्नो मन, वचन र कर्मलाई शुद्ध बनाउन अपरिहार्य रहेको उल्लेख गर्दै सेवामा रहँदा मात्र नभई सेवा निवृत्त भएपछि पनि सकलदर्जाले सैनिक मर्यादा पालना गर्नुपर्ने विषयमा जोड दिनुभएको थियो ।
कोभिड-१९ को सम्भावित जोखिमलाई मध्यनजर गरी भौतिक दुरी कायम राखी सञ्चालन गरिएको थियो भने कार्यक्रमलाई नेपाली सेनाका सबै युनिटहरुमा अवलोकन गर्न मिल्ने गरि Live Multicast समेत गरिएको थियो । उक्त कार्यक्रममा नेपाली सेनाका सकलदर्जाले विभिन्न परिस्थितीमा आफ्नो भूमिका र जिम्मेवारीहरुलाई संयमताका साथ सुझबुझपूर्ण तवरले सम्पादन गर्न आवश्यक विषयवस्तु समावेश गरिएको थियो । कार्यक्रममा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा लगायत रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिती रहेको थियो ।
यो कार्यक्रम संचालनबाट नेपाली सेनामा कार्यरत सकलदर्जा बीच विश्वासको वातावरण सिर्जना भई थप अनुशासित, नैतिकवान र व्यवसायिक फौजको रुपमा स्थापित हुने विश्वास नेपाली सेनाले लिएको छ ।

Facebook Comments