थानकोट-चित्लाङ सडक खण्ड सुचारु

थानकोट–चित्लाङ सडक (गणेश मान सिंह मार्ग) सुचारु भएको छ । सडक निर्माणका क्रममा दशैंतिहारदेखि बन्द रहेको सडक सुचारु भएको हो ।

थानकोट– चित्लाङ सडक खण्डमा तीनदिन देखि राम्रोसँग सवारी साधन ओहोरदोहोर गरिरहेको स्थानीय सन्तोष लामाले जानकारी दिए । उनका अनुसार एक साता अघिदेखि नै बिहान बेलुका सवारी आवागमनका लागि बाटो खुलाइएको थियो ।

‘तीन चार दिन बिहान बेलुका मात्रै सवारी आउन दिइएको थियो, अहिले जुनसुकै बेला सानोदेखि ठूला सवारी आउने जाने गरिरहेका छन्,’ उनले भने, ‘चित्लाङ पौवाबाट मोटरसाइकलमा ३५ मिनेटमा थानकोट पुगिरहेका छौं ।’

०७६ मंसिरसम्म काम सम्पन्न गर्ने भनी प्रतिबद्धता जनाएको ठेकेदारले काम नसकाउँदा चित्लाङ र आसपासका बासिन्दाले सास्ती खेप्दै आएका थिए । राजधानी काठमाडौंबाट १२ किलोमिटरको दुरीमा पर्यटकीय गाउँ चित्लाङ छ । सडक नबन्दा काठमाडौं जानका लागि चखेल, फाखेल वा त्रिभुवन राजपथको लामो दुरी पार गर्नु पर्ने बाध्यता थियो ।

Facebook Comments