तौलिहवा वितरण केन्द्रका दुई कर्मचारीलाई बाढीले बगायाे

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रमा कार्यरत दुई कर्मचारीको बुधबार साँझ गाडी सहित बाढीले बगाउँदा निधन भएको छ । काम गरेर फर्किँदै गर्दा काेइली खोलामा आएको बाढीले गाडीसहित बगाएको प्राधिकरणकी सूचना अधिकारी लीला अर्यालले जानकारी दिइन् ।

अर्यालका अनुसार मृत्यु हुने सुपरभाइजर कृष्ण पौडेल र सवारी चालक माधव पाण्डे छन् । साथै, गाडीमा सवार एक जना उपभोक्ताको पनि मृत्यु भएको उनले जानकारी दिइन् । गाडीमा दुई ज्यालादारी कर्मचारी र अर्का एक जना उपभोक्ता भने खोलामा हाम फालेर पौडेर बाच्न सफल भएका छन् ।

मृतक पाण्डेको शव भेटिएको छ तर पौडेल र अर्का उपभोक्ताको भने कुनै पत्ताे लाग्न सकेको छैन । खोलाबाट गाडी समेत निकाल्न सकिएकाे छैन। मृतक पौडेल र पाण्डे अर्घाखाँची र गुल्मी निवासी रहेको प्राधिकरणले जनाएकाे छ ।

Facebook Comments