काठमाडाैं – पूर्व सभामुखहरुले संघीय संसदको हिउँदे अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग आग्रह गरेका छन्। संक्रमणकालिन अवस्थामा जनताको समस्या सम्बोधन गर्न र सरकारलाई सही बाटोमा डोर्याउन पनि संसदको आवश्यकता रहने भएकाले अधिवेशन तत्काल आह्वान गर्न पूर्व सभामुखहरुले आग्रह गरेका हुन्।
संसदको आवश्यकता लोकतन्त्रमा महत्वपूर्ण रहेको भन्दै तत्काल अधिवेशन आह्वान गर्नुपर्ने पूर्व सभाुमखहरुको भनाई छ। लामो समय संसद बन्द हुँदा सरकार अराजक बन्ने खतरा हुने भएकाले तिहार लगत्तै अधिवेशन आह्वान हुनुपर्ने पूर्वसभामुखहरुले बताएका छन्। पूर्व सभामुख ओनसरी घर्तीले तिहारपछि अनिवार्य रुपमा संसद चलाउनुपर्ने बताइन्।
संविधान अनुसार ६ महिनाभन्दा बढी समय संसद बन्द गर्न नहुने स्मरण गराउँदै उनले अहिलेको अवस्थामा जनप्रतिनिधिहरुले जनताका कुरा राख्नपनि संसद अनिवार्य रहेको बताइन्। कोरोना महामारीको समयमा सबै राजनीतिक एकै ठाउँमा रहेको अवस्थामा संसदबाट यस सम्बन्धी थप छलफल र बहस गरेर अझ राम्रो हुने उनले बताइन्।
जनताको प्रतिनिधिमुलक संस्था संसद बन्द हुँदा देशमा अराजकता मौलाउने डर हुने उनले बताइन्। विधि विधान अनुसार एउटा प्रकृयामा अगाडि बढ्नका लागि संसदको आवश्यकता रहेको उनले बताइन्।
उनले भनिन् ‘‘जनताको प्रतिनिधिमुलक संस्था नचल्दा अराजकतातिर जान्छ । विधि, विधान अनुसार एउटा प्रकृयामा अगाडि बढ्नका लागि पनि संसद चल्नुपर्छ । प्रतिपक्षी दलले आफ्ना कुरा राख्नुपर्छ । जुनसुकै दलले पनि जनताका कुरा राख्न सक्छन् । संसद जनताको प्रतिनिधिमुलक संस्था भएकाले नियम, प्रकृया र विधि विधानमा आउँछ । राष्ट्र र जनतामा परेको समस्यालाई केन्द्रिकृत गरेर वैज्ञानिक ढंगले समाधान गर्ने बाटोतिर जान सकिन्छ । संसद अनिवार्य छ ।’’
स्वास्थ्य सुरुक्षाका मापदण्ड अपनाउँदै जुनसुकै अवस्थामा पनि संसद सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उनले भनिन्, ‘‘६ सय सांसदको म्यानेज भएको ठाउँ हो । अहिलेको संख्या एकदमै सानो हो । यसलाई व्यवस्थापन पनि सचिवालयले यो भन्दा पहिलेको बैठक पनि दूरी बनाएर सञ्चालन गरेको थियो । सांसदहरुले आफ्नो ठाउँबाट सतर्कता अपनाउने । यातायातको साधन नभएका सांसदका लागि म्यानेज गरियो भने । साना भन्दा साना कुराको म्यानेग गरियो चल्न नसक्ने हुन्नँ । संसद रिस्क मोलेर पनि चल्नुपर्छ । किनकी त्यो त जनताको प्रतिनिधिमुलक संस्था हो । जनताको जीवनरक्षाका लागि जनताले आफ्ना काम अगाडि बढाउँदा पर्ने अफ्ट्यारा पनि संसदले सम्बोधन गर्नुपर्छ ।’’
पूर्व सभामुख रामचन्द्र पौडेलले राज्यलाई सञ्चालन गर्ने र सरकारलाई बाटो देखाउने भएकाले संसद अधिवेशन सुचारु गर्नु अनिवार्य भएको बताए। सरकारले संसदको अधिवेशन बन्द गर्दा कतिपय तत्काल बन्नुपर्ने ऐन, कानूनहरु अलपत्र परेको उनले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि आकस्मिक रुपमा संसदको अधिवेशन अन्त्य गरेको उल्लेख गर्दै पूर्व सभामुख पौडेलले सत्तारुढ दलले एकाधिकार लाद्न खोजको दृष्टान्त रहेकाे बताए। तिहार छठ लगत्तै अधिवेशन सुरु गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘‘संघीय लोकतान्त्रीक प्रणालीमा संसद अभिन्न अंग हो । त्यसले नै राज्यलाई सञ्चालित गर्छ । सरकारलाई बाटो देखाउँछ । सरकारलाई आफ्नो कर्तव्यमा हिँड्न लगाउँछ । यसको आवश्यकता लोकतन्त्रमा महत्वपूर्ण हुन्छ । अहिले संसदको अधिवेशन अन्त्य गरेर कतिपय बन्नुपर्ने कानून नियमहरु बन्न सकेनन् । आकस्मिक रुमा सत्ता स्वार्थका लागि प्रधानमन्त्रीले अधिवेशन अन्त्य गर्नुभयो । यो सत्तााधारीको मनोपोलीको दृष्टान्त हो । संसदको अधिवेशन तोकिएको समयमा चल्छ । त्यसको एउटा नियम हुन्छ । आवधिक निर्वाचन, आवधिक समयवद्ध काम लोकतन्त्रको अनुशासन हो । संसदले शासकलाई अनुशासनमा राख्ने बाटो देखाउने, देशलाई नीति निर्देशन गर्ने नियम कानून बनाउने थलो रोकेर यसरी राख्न हुने थिएन । अपरिहार्य छ । समय नआउँदै अधिवेशन अन्त्य गरियो । अब हिउँदे अधिवेशन तिहार छठपछि सुरु गर्नुपर्छ । देशलाई दिशा दिनुपर्छ ।’’
सरकारले आकस्मिक रुपमा संसद अधिवेशन अन्त्य गर्दा प्रतिपक्षी दलले दतारुकता देखाउन नसकेको उनले स्वीकार गरे। संसदको कृयाशिलता कायम राख्न तत्काल संसद बोलाउनुपर्ने पक्षमा कांग्रेस रहेको उनले बताए।
सरकारले संसदको अन्त्य गरेर लोकतन्त्रको आत्मालाई मार्ने काम भएको उल्लेख गर्दै उनले संसद सुचारु गरेर लोकतन्त्रको आत्मा जोगाएर देशलाई समृद्धितर्फ लैजान सकिने बताए।
देशसंचार