दाङ/दाङको राप्ती गाउँपालिका–९ सिमले र बङ्गलाचुली गाउँपालिका–८ झुण्डी जोड्ने घोसखोला पुल बनेपछि विद्यार्थीहरूलाई विद्यालय जान सहज भएको छ । बर्सातमा खोलामा पानीको बहाव बढ्दा विद्यार्थीलाई आवतजावत गर्न समस्या थियो । बाढीले विद्यालय जान पनि छेक्थ्यो भने विद्यालयबाट घर फर्किंदा पनि बाढीले छेक्ने गथ्र्यो । तर, अब त्यो समस्या नरहेको कक्षा ६ मा अध्ययनरत सुस्मिता राना मगरले बताउनुभयो ।
राप्ती गाउँपालिका–९ स्थित देवी आधारभूत विद्यालय मसरी डाँडामा जानका लागि झुण्डीका विद्यार्थीहरूलाई त्यस्तै समस्या हुन्थ्यो । “खोला तर्न नसक्दा पढाइ छुट्थ्यो । अहिले पुल बनेपछि त हरेक दिन ढुक्कसँग स्कुल जान सकिन्छ,” उहाँले भन्नुभयो, “अब पढाइ नछुट्ने भयो ।” त्यहाँका करिब ५० भन्दा बढी विद्यार्थीलाई बाढीले मारमा पार्ने गरेको भए पनि अब त्यो समस्या हराएको कक्षा ६ मा अध्ययनरत भीमबहादुर गाहा मगरले बताउनुभयो ।
विद्यार्थी मात्रै होइन, त्यहाँका स्थानीयलाई पनि अब सहज भएको छ । त्यहाँ करिब १९५ घरधुरीलाई सहज भएको छ । कोही बिरामी पर्दा पनि पुल नहुँदा बाढीले छेक्ने गरेको राप्ती गाउँपालिका–९ का वडाध्यक्ष रिमबहादुर सुनारीले बताउनुभयो ।
अहिले त्यहाँ ११२ मिटर लामो पुल निर्माण भएको छ । सङ्घीय सरकारको ४३ लाख ४८ हजार र राप्ती गाउँपालिकाको १८ लाख नौ हजार तथा स्थानीय समुदायको एक लाख २५ हजार श्रमदानबाट गरी उक्त पुल निर्माण भएको पालिका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो । उहाँका अनुसार पुल निर्माणले त्यस भेगका सयौँ स्थानीयहरू पनि लाभान्वित भएका छन् ।