झिमरुकमा प्रयोगात्मक तरकारी खेती

प्युठानको झिमरुक गाउँपालिकाले कृषि तालिम तथा नर्सरी प्रदर्शनी केन्द्र सञ्चालन गरेको छ । गत वर्षको माघदेखि गाउँपालिकाको केन्द्र नजिकै वडा नं ४ स्थित भ्यागुतेमा केन्द्र सञ्चालनमा ल्याएको हो । पालिकाले चार रोपनी जग्गा लिजमा लिई प्रदर्शनी केन्द्रमा कृषकलाई तालिमसँगै विभिन्न तरकारी उत्पादन गर्दै आएको गाउँपालिकाका कृषि शाखा प्रमुख टेकबहादुर विकले जानकारी दिनुभयो । अघिल्लो वर्ष अढाइ रोपनीमा सञ्चालन गरिएको फार्म यस वर्ष चार रोपनीमा विस्तार गरिएको उहाँले बताउनुभयो ।

पालिकाले कृषकलाई विभिन्न कृषिसम्बन्धी तालिम दिए पनि किसानले खेती नगरेपछि आफैँ जग्गा लिजमा लिई प्रयोगात्मकका लागि खेती गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्ला वर्षमा तालिम धेरैपटक दियौँ, तर किसानले तालिमपछि खेती गर्नुभएन ।” पहिले दिएका तालिम कोठामा मात्रै सीमित भएपछि यसलाई व्यवहारतः खेती गर्न प्रदर्शनी केन्द्र सञ्चालनले सहयोग पुर्याएको उहाँको भनाइ छ । प्रयोगात्मक कृषि तालिम सञ्चालन भएसँगै कृषि गर्न इच्छुक कृषक मात्र तालिममा सहभागी हुने गरेको उहाँले बताउनुभयो ।

पालिका क्षेत्रभित्र सधँै बाहिरबाट आएको तरकारीमा आत्मनिर्भर हुने देखिएपछि यस क्षेत्रलाई तरकारीमा आत्मनिर्भर बनाउन थप टेवा पुर्याउने विश्वास पालिकाले लिएको छ । पालिकाले सञ्चालन गरेको प्रदर्शनी केन्द्रमा हाल टमाटर, च्याउ, आलु, गाँजर, धनिया, भान्टा, मुलालगायतका तरकारी उत्पादन भइरहेका छन् । त्यस्तै हाललाई प्याज र कोभीका बेर्ना उत्पादन गरिएको छ भने मौसमअनुसारका बेर्नाहरुसमेत राख्ने गरिएको उहाँले बताउनुभयो । त्यसमध्ये टमाटर, काउली, भान्टा, धनियाँ बिक्रीसमेत भइरहेको छ । बजार क्षेत्रमा भन्दा केन्द्रमार्फत केही सहुलियतमा तरकारी बिक्री गर्दै आएकोसमेत उहाँले बताउनुभयो । अबको केही समयमा काँक्रा, करेला लगाउने तयारी भएको उहाँको भनाइ छ । उत्पादित तरकारी केन्द्रबाटै बिक्री वितरण हँुदै आएको छ ।

पालिकाले अघिल्लो आर्थिक वर्षमा केन्द्र सञ्चालनका लागि रु चार लाख ७० हजार बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा रु दुई लाख बजेट विनियोजन गरेको कृषि शाखा प्रमुख विकले बताउनुभयो । अघिल्लो आवमा तरकारी बिक्री वितरणबाट रु ९४ हजार ५०० र चालु आवको हालसम्म करिब रु ३५ हजार बराबरको तरकारी बिक्री गरेको उहाँले बताउनुभयो । तरकारी बिक्रीबाट आएको रकम पालिकाको खातामा राख्ने गरिएको छ । पालिकाभित्र २०७ वटा कृषि समूह तथा कृषि तथा पशुपक्षी फार्म छन्् । पकेट क्षेत्रको आधारमा कृषक छनोट गरिएको छ । मौसमीसँगै बेमौसमी खेतीलाई पनि प्राथमिकता दिने पालिकाले जनाएको छ ।

Facebook Comments