छन्दमा नयाँवर्षको शुभकामना

नेपाली साहित्यमा छन्द पुरानो र लोकप्रिय विधा हो । संंस्कृतका ऋचाहरूमा सुरम्य ढंगले छन्दको प्रयोग भएको छ । यही मिठास पछि नेपाली छन्दमा रूपान्तरण भयो । चालिसको दशकसम्म मौलिक विधाको रूपमा रहेको छन्द पछि बिस्तारै ओझेल पर्‌यो । स्वछन्दवादी कविहरूले छन्दको विरोध गरे । यसलाई झन्झटको रूपमा लिए । कोषराज न्यौपाने र होम सुवेदीले जेनतेन धानिरहेको ओझेलमा पर्न लागेको छन्दको उजागर गर्न डा. रामप्रसाद ज्ञवाली र डा. देवी नेपालले प्रयास गरिरहेको समयमा नेपालमा कोरानाको महामारी छायो । त्यो समय छन्द लेखनका लागि बरदान सावित भयो । फलत अहिले छन्दमा लेख्ने धेरै कविहरू जन्मिए ।
छन्दको आफ्नै लय र परम्परा हुन्छ । भनिन्छ यसमा राग जोडिएको हुन्छ र त संगीत विना नै झंकार पैदा हुन्छ । नयाँ वर्षको उपलक्ष्यमा कविहरूले दिएको छन्दोबद्ध शुभकामनाको केही चर्चा गरौं ।
छन्दमा शुभकामना दिदैं एकेएन गोगने लेख्छन् ।
हिजो साँझमा चैतले गीत गायो
बिहानी भयो आज वैशाख आयो
पुरानो भई सालले दण्ड पायो
नयाँ वर्षमा तीव्र उल्लास छायो ।
हिँड्दा सबैतिर शरद् र वसन्त देखूँ !
जाऊँ जहाँ सकल सन्त महन्त देखूँ !
विध्वंश कंस लुट झूट कतै नदेखूँ !
यस्तै सुरम्य कविता जहिल्यै म लेखूँ !

वासुदेव पाण्डेय
नेपालमा अब सधैँ सुखशान्ति छाओस्
छाती विदीर्ण नबनी जन मुस्कुराओस्
समृद्धि, उन्नति,विकास निकास पाओस्
संसारमा पनि खुसी र उमङ्ग छाओस् ।
नेपाल सुन्दर र शान्त, विशाल देश
स्वातन्त्र्य लाग्छ पहिचान बडो विशेष
नेपाल उन्नति गरोस् नित चाहना छ
यो देश ‘देश’ सरि होस् शुभकामना छ ।

 

कोषराज न्यौपाने
नयाँवर्ष तिमी आऊ लिई मुस्कान साथमा
रोग व्याधि नहोस् नित्य शत्रुको पनि गाथमा ।
सङ्कष्टमा छ यो देश गर सङ्कट मोचन
उनासी शुभ होस् हाम्रो अर्पन्छु शुभकामन ।

 

होम सुवेदी
आगामी नववर्षमा मुलुकले पाओस् सुनौला पल
मिथ्याका भ्रमजाल च्यात्नु छ यहाँ कोही नहून् निर्बल
मायाँ स्नेह अपार होस् र ममता सद्भावना टम्म होस्
हाम्रो यो नववर्ष यो मुलुकमा आधारको स्तम्भ होस् ।

 

जीवन काश्यप
यो देश मेरो सब भन्न थालून्
मिलेर यो देश सधैँ उचालून्
बोकेर ऊर्जा नव वर्ष आओस्
यो राष्ट्रका दुःख सबै भगाओस्

 

दिव्यचन्द्र आचार्य
मेरो माथ तयार छैन किन हो मोती खसालूँ भनी
हत्केलासित छैन जाँगर नयाँ रेखा बनाऊँ भनी ।।
मेरो हाल र चाल हेर्छ तरुले गिज्याउँदै भन्दछ
गर्नै हैन परन्तु धाक किन हो ठूलो हुने गर्दछ ।

 

इन्द्रनारायण सुवेदी
आयो वर्ष नयाँ बनाउन सकौँं सद्भावनाको दसी
कोरोनासँग युद्ध गर्नु नपरोस् एक्लै कुनामा बसी
अर्पेँ यो शुभकामना हृदयले राखेर निष्ठा अति
बाँचोस् मानवता सधैँ भुवनमा गर्दै ठुलो उन्नति ।

 

आत्माराम न्यौपाने
नयाँ सालमा प्रेम होस् प्रेमिका हुन्
सबै कृष्ण हून् साथमा राधिका हुन्
अरू कामना के गरूँ आज मैले
सबै स्थान गोपालका द्वारिका हुन् ।

 

दुष्यन्त भट्टराई
नयाँ वर्षमा देशले शान्ति पाओस्
नयाँ वर्षमा देशले कान्ति पाओस्
यही चाहना कामना हुन्छ मेरो
नयाँ वर्षले भ्रान्ति जो छन् हटाओस् ।

 

रामहरि शर्मा
लागून् उन्नत मार्गमा नवयुवा उच्चा रहोस् वैभव
यात्रामा अवरोध जे जति परून् फाँडून् उखाडून् अब
उम्दा कर्मठ हातको कदर होस् निस्वार्थको श्वासको
यो हाम्रो नव वर्ष होस् प्रगतिको आस्था र विश्वासको ।।१

 

धनश्याम रेग्मी
आदित्यादि सबै नवै ग्रहहरू हुन् दाहिना लौ अब
अग्लो शैल छँदैछ साथ शिवको छायाँ दिने सौरभ
सीता गौतम बुद्ध औँ अरनिको आदर्श हाम्रा जन
त्यै आदर्श विवेकको पथ सधैँ हामी हिँडौँ सज्जन ।
नेपाली दिलका गरा मधुरिमा फक्रोस् छ यो चाहना
यो हाम्रो नव वर्ष मङ्गल बनोस् यस्तै गरेँ कामना ।

उत्तम विचार
आयो नयाँ साल लिएर हर्ष
स्वीकार गर्छौँ दिलले सहर्ष ।
साटेर आफ्ना कवि भावना यो
दिन्छौँ सबैमा शुभकामना यो ।

 

हरिशरण खतिवडा
सारा यी वनबाटिका भुवनका नौलो जवानी भरी
खुल्दैछन् धरणी सजाउन अहा ! चैतन्य आभा छरी
आऊ हे नव वर्ष उत्सव ठुलो हामी मिली गर्दछौँ
जागोस् सौम्य विचार शान्त जगमा आशा यही गर्दछौँ ।

 

डा. खगेन्द्रप्रसाद दाहाल
सङ्कष्टको काल हटेर जाओस्
उत्साहले जीवन भर्न आओस्
बिताइयोस् जीवन प्रेम गाँसी
उल्लासको वर्ष बनोस् उनासी ।

 

हरिप्रसाद न्यौपाने
आयौ हे नव वर्ष हर्ष छ ठुलो देऊ नयाँ जाँगर,
जो जे छन् कुविचार ती पर हटून् हाँसून् सबैका घर
पाऊन् खान खुसी भएर सबले नाङ्गो नहोस् अङ्ग यो,
आफन्तीसरि हुन् सबै जन भनी यो सोच आए भयो ।
बा आमासँग पुत्रको मिलन होस् कोही नजाऊन् पर,
चेली हिँड्न सकून् खुला हृदयले पाऊन् सधैँ आदर ।
मेरो देश भनेर शुद्ध मनले नेतृत्व हाँक्ने जन,
जाऊन् माथि गरून् स्वदेश हितको सत्कर्म संरक्षण ।

 

मेघराज पौड्याल
हाम्रा पालक जो थिए अब हुने राम्रा सबै भैदिउन्
जो जो काम बिना कमाउ मनका हारेर यी गैदिउन्
राता रात कमाउने पसलमा आँखा परोस् राजको
मेरो यो शुभकामना सुजनमा हो वर्ष आरम्भको ।।

 

रामचन्द्र घिमिरे
यो नव नामक हो बुझियो नल दिन्छ अरे छल दुःख भय
भूपति छन् शनिजी गुरु नायक कोमल हुन्न कतै अभय
दुर्जन चढ्दछ सज्जन घट्दछ हालत लायक दिन्न जय
शान्त बनोस् जनको मन नूतन वर्ष विशिष्ट भयो समय ।


(यी कविताहरू छन्द चौतारी नामक पेजबाट लिइएको हो ।)



Facebook Comments