काठमाडौँ/चित्रकार विनोद प्रधानको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ ।
बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा ‘एन इन्टरनिटी अफ रिफ्लेक्सन’ शीर्षकमा उहाँको चित्रकला प्रर्दशनी गरिएको हो । चित्रकार प्रधानले कल्पनामा आएका विचारहरुको सुन्दर आकृतिका स्वरुप क्यानभाषमा उतारेको बताउनुभयो । उहाँका अनुसार कल्पना भनेको मानसिक शक्ति हो । सोच्ने क्षमता पनि हो । “विचारहरु व्यक्तिपिच्छे फरक हुन्छ”, चित्रकार प्रधानले भन्नुभयो, “यिनै फरक विचारहरुलाई रङमा चित्रण गरेको छु ।”
उहाँले आफूमा जस्तोसुकै विचार उब्जिन्छ, त्यसलाई क्यानभासमा पोतिहाल्ने स्वभाव रहेको सुनाउनुभयो । प्रधानको चित्रकलाको शैलीमा समसामयिक र परम्परागत धारणा मिसिएको पाइन्छ । एन इटरनिटी अफ रिफ्लेक्सन शीर्षकको चित्र नियाल्दा रोचक अनुभूति हुन्छ । हिमाल, पहाडको वरिपरि बीचमा ढुङ्गेधारा आकृति छ । देवीदेवताको दृश्य उतारिएको उक्त मूर्तिस्वरप आकृतिले धार्मिक सभ्यताको पहिचान झल्किन्छ ।
चित्रकार प्रधानले एकातिर प्रकृतिको महिमा दर्शाउनुभएको छभने अर्कोतिर काठमाडौँ उपत्यकाको सभ्यताको झुकाव झल्काउन खोजेको महसुस हुन्छ । प्रधानद्वारा सिर्जित चित्रहरु आगामी डिसेम्बर ७ सम्म प्रदर्शनी राखिने ग्यालरीका प्रमुख सङ्गीता थापाले बताउनुभयो ।