काठमाडौं । चलचित्र ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक भएको छ । ‘गोबर गणेश’ बोलको गीतमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)को स्वर छ । शब्द तथा संगीत बाबुल गिरीको छ ।
क्याची गीतले सिनेमाको मुड दर्शाउने प्रयास गरेको छ । रमाइलो शैलीको गीतले चलचित्रको मुड र थोरै भए पनि कथा र त्यसको प्रिजेन्टेसनको शैली बताउने काम गरेको छ ।
गीतको भिडियो, शब्द र संगीतले सिनेमाको बेस कमेडी रहेको प्रष्ट्याएको छ । गीतले सबै कुरामा परफेक्ट रहेको व्यक्ति पढाइमा भने कमजोर रहेको पक्षले पार्ने असरलाई देखाएको छ ।
पढाई कमजोर हुँदा त्यसले आत्मविश्वास कसरी गिर्छ भन्ने गीतले प्रष्ट पार्छ । सबै कुरामा अब्बल हुँदा पनि पढाई मात्रै कमजोर हुँदा त्यसले समाज र साथीभाइबीच पार्ने नकारात्मक प्रभावलाई गीतले देखाएको छ ।
गम्भीर विष्टले कोरियोग्राफी गरेको भिडियोमा मरिचमान केन्द्रमा छन् । उनीसँगै वर्षा शिवाकोटी र निर्मल शर्माले पनि राम्रो स्थान पाएका छन् ।
चलचित्र ‘गोबर गणेश’ माघ १ गते रिलिज हुँदैछ । ‘गोबर गणेश’लाई मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले निर्देशन गरेका छन् । छायांकन सकेको यो चलचित्र अहिले पोस्टप्रोडक्सनमा छ ।