बुटवल उपमहानगरपालिका-८ सुख्खानगरस्थित कलश होटलबाट १ थान गैंडाको खाग सहित ३ जनालाई प्रहरीले आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सुर्खेत लेकबेसी गाउँपालिका बस्ने ३१ वर्षीय भक्त बहादुर थापा, जाजरकोट बोरेकोट गाउँपालिका-४ बस्ने २६ वर्षीय कर्ण बहादुर राउत र काठमाडौं महानगरपालिका-१ बसन्तपुर बस्ने २६ वर्षीय राकेश न्यौपाने रहेका छन् ।
उक्त होटलमा गैंडाको खाग तस्करी हुँदैछ भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटवलबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा खटिएको प्रहरीले उक्त खाग सहित उनीहरुलाई पक्राउ गरेको हो । साथै उनीहरुलाई नियन्त्रणमा लिने क्रममा उनीहरुले प्रहरीसँग रहेको पेस्तोल खोसी गोली चलाउँदा उनीहरु मध्येकै न्यौपाने घाइते भएकाले लुम्बिनी प्रादेशिक अस्पताल हुँदै थप उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको छ ।
उक्त कार्यमा संलग्न हाल फरार १ जनाको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।