गुल्मीमा कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध

अविरल वर्षाका कारण पहिरो गएपछि कालीगण्डकी करिडोर अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा सडक माथिबाट चट्टानसहितको पहिरो खसेपछि आज उक्त सडक पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रमा अहिले दुवैतर्फका सवारीसाधनबीच बाटोमै अलपत्र परेका छन् । अवरुद्ध सडक सञ्चालन गर्नका लागि सडक निर्माण कम्पनीबाट स्काभेटर तयारी अवस्थामा राखिएको भए पनि पानी परिरहेको र सडक माथिबाट पहिरो खसिरहेका कारण तत्कालै सडक सञ्चालन गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।

त्यसैगरी जिल्लाको मुख्य सडकअन्तर्गत रिडी–वामीटक्सार खण्ड पनि अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा पानीको बहाव बढेपछि आज उक्त सडक पनि पूर्ण रुपमा अवरुद्ध बनेको सूचना अधिकारी सारुले बताउनुभयो ।

डहरे खोलामा लेदोसहितको बाढी आएपछि सडक अवरुद्ध हुँदा त्यस क्षेत्रबाट रिडी हुँदै बुटवल जाने र रिडी हुँदै बागलुङको बुर्तिबाङसम्म आवतजावत गर्ने सवारीसाधन यतिबेला बीच बाटोमै रोकिएको प्रहरीले जनाएको छ । डहरे खोलाले गत साता एउटा कारसमेत बगाइदिएको थियो । अवरुद्ध सडक सञ्चालन गर्नका लागि जिल्ला प्रहरी कार्यालयले जोहाङ् खैरेनी र पुर्तीघाटबाट प्रहरी टोली परिचालन गरिसकेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले वर्षाको समयमा खोला तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरेको छ । त्यसैगरी वर्षाका कारण बडिगाड खोला र कालीगण्डकीमा पनि पानीको सतह बढ्दै जान थालेको छ ।

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पुनः अवरुद्ध भएको छ । भारी वर्षाका कारण बागलुङ नगरपालिका–१३ कालाखोलामा भिषण पहिरो झर्दा करिडोर अवरुद्ध भएको छ । पाँच दिन अगाडिदेखि अवरुद्ध सडक मङ्गलबार दिउँसो सञ्चालनमा आएको थियो ।

रातभर वर्षा भएपछि आज बिहान ९ः०० बजे सडक माथिदेखि पहरासहितको पहिरो खस्दा करिडोर ठप्प भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा दक्षिण बागलुङसँग सीधा यातायात विच्छेद भएको छ ।

अवरुद्ध सडक खुलाउनका लागि प्रयास गरे पनि अहिले पनि वर्षा भइरहेको हुँदा खुलाउन नसकेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । सडक अवरुद्ध हुँदा बागलुङदेखि बुटवल, पाल्पा, भैरहवालगायतका स्थानमा पुग्ने सवारी साधनसमेत ठप्प हुँदा यात्रु अलपत्र परेको उहाँको भनाइ छ ।

“कालाखोला क्षेत्रमा ठूलो पहिरो खसिरहेको छ, पाँच दिन अगाडि खसेको पहिरो हिजो मात्रै खुलाएका थियौँ, आज फेरि ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको छ”, प्रहरी निरीक्षक थापाले भन्नुभयो, “यातायता ठप्प हुँदा यात्रुलाई समस्या भएको छ, ठूला–ठूला चट्टानसहितको पहिरो खसेका कारण सडक खुलाउन समस्या भइरहेको छ, कालीगण्डकी करिडोर आयोजनासँग सहकार्य गरेर खुलाउने छौँ ।”

Facebook Comments