गजल

आयो दसैँ शरद्की दुर्गासँगै लिएर ।।
प्रस्थान भो कसैको झन् सौम्यता दिएर ।।

कोही बसे मजाले प्रासाद शुद्ध पारि
कोही कतै रमायो रक्सी निशा पिएर ।।

छैनन् अरे कसैका नाना र अन्न खाने
मर्छन् खसी र राँगो बाँच्दो छ आत्तिएर ।।

निर्धो पिता र माता नाङ्गो छ बाल-बच्चा
खोजेर लिन्छ कर्जा मान्यो दसैँ खिएर ।।

हत्या गरेर प्राणी पूजा हुँदैछ दुर्गा
विश्वास घात भो है ! संसार झुक्किएर ।।

Facebook Comments