खेती

पानीकै बलले अनाज उगिए बारी र पाखाभरी
आफैं फल्छ कहाँ र स्वर्ण नछरी मानौं श्रमैले गरी
माटो जीवन हो धरा प्रकृतिको मोती सितारा छरौं
बाँचौँ बाँच्न दियौ र ज्ञान गतिलो आर्जेर खेती गरौं ।।१।।

हाम्रो प्रेम थियो विहान रविको ज्वाला थियो चेतको
बाचा साथ दिने थियो युगयुगौं माया र सद्भावको
के होला जगका विचार भरिला हामी डरायौ भने
आफ्नो लक्ष्य पुरा त हुन्छ कसरी आफै हरायौ भने ।।२।।

आँखामा जलको लिएर अमिलो ताना र वाना बुनी
हामी छौ नवका प्रदिप्त झरिला नौलाख तारा मुनी
हावा चाल गरेर बग्छ सहजै गाला गरी चुम्बन
खायो के तनको अभाब मनको बाटा उज्याला वन ।।३।।

खायो पान चपाइँयो र थुकियो रातो गरी रोडमा
आफ्नो याद हराइयो र अरुको बानी लियो जोडमा
स्वार्थी झैं सबको अगाडि बनियो खाने नखाने गरी
लायो उत्सव नै जहाँ छ दुनियाँ जान्ने र सुन्ने बनी ।।४।।

Facebook Comments