खिम्तीकाे आन्तरिम पिपिए

काठमाडौं । खिम्ती जलविद्युत आयोजनाको अन्तरिम सहमति (पिपिए) हस्ताक्षरको तयारीमा छ । २०७७ असार २६ बाट पिपिएको समय सकिएपछि र नयाँ पिपिए नहुन्जेलका लागि अन्तरिम सहमति गर्न लागेको हो । प्रशासनिक र प्राविधिक खर्चका लागि यो अन्तिम समयका लागि प्रतियूनिट रु २ का दरले अन्तरिम सहमतिका लागि दुबै पक्ष तयार भइ अन्तिम चरणमा पुगेको उर्जा मन्त्रालयका  सहसचिव एवं प्रवक्ता प्रविण अर्यालले बताउनु भयो ।
६० मेगावाटको खिम्ती जलविद्युत आयोजनाको पिपिए हुँदा २० वर्ष पछि नेपाल सरकार र खिम्तीको ५०/५० प्रतिशतको स्वामित्वमा जोइन्ट भेन्चर कम्पनी बनाएर संचालन गर्नुपर्नेमा कम्पनी खडा हुन नसकेको कारण आयोजना संचालन खर्चका लागि प्रति युनिट रु २ ले आन्तरिक सहमति गर्न लागेको हो । जोइन्ट भेन्चरमा नयाँ कम्पनी खडा गर्ने काम ४/५ महिनामा हुने भन्ने थियो । तर कोभिडको समस्याले त्यसो हुन नसक्दा यो व्यवस्था गर्न लागिएको प्रवक्ता अर्यालले बताउनु भयो । उहाँले यो अन्तरिम भएको र पछि हुने पिपिएमा यसलाई समायोजन गरिने बताउनु भयो ।
अन्तरिम सहमतिमा हस्ताक्षर हुन बाँकी छ । प्राधिकरणले यसको तयारी गरिरहेको छ भने वोर्डले स्वीकृत गरेपछि हस्ताक्षर हुनेछ । जेभी बनाउने र नयाँ पिपिए कायम गर्ने सहमति भइ आन्तरिक पिपिए तय भएको हो । पछि जुन दर रेटमा पिपिए हुन्छ, त्यो अन्तरिम पिपिए पनि त्यसै अनुसार हुनेछ ।

Facebook Comments