काठमाडाैं । कोभिड –१९ को रोकथाम र उपचारका लागि सरकारले साउन मसान्तसम्म झण्डै १२ अर्ब बराबरको खर्च गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा युवराज खतिवडाले कोरोना नियन्त्रणमा भएको खर्च विवरण सार्वजनिक गर्नु भएको हो । साउन मसान्तसम्म तीनै तहबाट रु ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार खर्च भएको उहाँको भनाइ छ ।
औषधि, स्वास्थ्य सामग्री, पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टिन र अन्य शीर्षकमा रु चार अर्ब ८१ करोड नौ लाख ९८ हजार खर्च भएको छ । सङ्घीय संचित कोषबाट विभिन्न मन्त्रालयबाट हालसम्म रु पाँच अर्ब ८४ करोड ७९ लाख ९४ हजार, प्रदेश सरकारका तर्फबाट रु एक अर्ब ४९ करोड ७० लाख ४५ हजार र स्थानीय तहबाट रु एक अर्ब ३५ करोड २० लाख ५९ हजार स्रोत व्यवस्थापन भएको छ ।
यसरी खर्च गर्नेमा सबैभन्दा अगाडि सुदूर प्रदेश अगाडि रहेको छ । दोस्रोमा कर्णाली प्रदेश छ भने सबैभन्दा कम खर्च ५ नं. प्रदेशले गरेको छ ।