के को अछूूतो भन

टोपीमा थुकका छिटा र पगरी चोलीभरी राल छ
दौरामा सुरुवालमा र उसको भोटोभरी दाग छ
सारा पैरनमा त बोकी रहने आफ्नै सजाई तन
यस्तो सीप कला अछूत कसरी ? कस्ले बनायो भन ? ।।१।।

तामाका मटिया र खाट खटिया सारा चुलोमा चले
चिम्टा ओखल थालमा बिटुलियो बत्ति उज्याला बले
लड्दा युद्धकला र भार खुकुरी कस्को थियो साधन ?
फाली औं हसियाँ कुटो अनि हलो कस्ले बनायो भन ? ।।२।।

छालामा श्रमको बगाइ पसिना खुट्टा सजाई दियो
काट्यो नाप गरी र ठिक्क गतिलो पारेर जुत्ता सियो
खुट्टामा जचियो र मख्ख सँगले कस्तो सुहायो अहो
सारा बस्त्र हुने लगाउन सबै मान्छे अछूतो भयो ।।३।।

कामी आरनमा अझैं छ बलको खेती नयाँ लाउँदै
फुक्दै ढोल सनै सँगै छ नगरा उस्तै दमै गाउँदै
सार्कीकै बलले तुनेर पहिले जुत्ता बनायो किन ?
भन्छौ जात अझै सुहाउँछ कतै के को अछूतो भन ? ।।४।।

पूजा फूल विषे सबै सरबरी सोध्दैन के जात हो
के हो जात ? धरा बराबर भए यो भेद छोडौं न हो
अर्काकै श्रममा छ बाँच्नु त भने के जात के पात हो ?
उच्चाको फल उच्च हो र निचको के फूल नै पात हो ? ।।५।।

घण्टी मन्दिरमा र तोरण सधैं हल्लिरहेको छ है
राम्रो हो नगरा र ढाल उसको भन्दैन छोइन्छ है
लोटी त्यो जल नै लिएर जहिले जाँदैछ मन्दिरमा
म्यानैमा तरबार बस्दछ सदा छोइन्छ त्यो खै कहाँ ?।।६।।

छन्द : शार्दूलबिक्रीडित
गण : मातारा सलगा जभान सलगा, ताराज ताराज गु

Facebook Comments