खेतका फाँटमा झिल्मिले तारछन्
जून झैं चम्किला स्वर्णका हारछन्
धानको फाँट हो या सुनैको गरा
हातमा राख्नु या बोक्नु भो यो धरा ।।१।।
पाखुरी खैँचिदा अन्न जो बर्षियो
पौरखी एक हो धर्तिको सार जो
बालुवा भित्र नै अन्नको रास छ
बाँच हे बाँच्नु नै बाँच्नुको आश छ ।।२।।
ऋणको भार के दुख्खको सार के
टन्न भो कोठरी भोकको मार के
भोकले आशले शर्मले धर्मले
जिन्दगी चल्छ हो खेल झैं पर्मले ।।३।।
ओर्लियो भेल झैं कौशिकी धारको
बीचको भाग के वारको पार भो
दास भै बाँच्नु के मूर्ति झैं वा शिला
खिल्न नै छोडिगो केशरी कोपिला ।।४।।
सान हो मान हो कृर्षि नै ज्ञान हो
जागिरै खोजियो यो त बे’मान हो
हाँसियो खेलियो दुख्खमा जेलियो
साटियो फेरियो अन्तमा हेलियो ।।५।।
आश हो त्रास हो विष्णु कै बास हो
त्राण नै त्राण हो अन्न नै खास हो
मै भुले आशमा संझना भारको
देउ हे जिन्दगी बाँच्न नै सारमा ।।६।।
छन्द स्रग्विणी