चौतारालाई तुवाँलोले छोपेको साँझ
कोही उभिरहे जस्तो
कसैले मुटुको दुर्लभ बुट्टे रुमाल छोडेको हुनसक्छ
लाकुरी हल्लिरहेछ
उनीहरुले एकोहोरो जीवन पिएको देखेर
थकित बाटो जाँदैछ रिमरिम अध्यारोमा ।
चौताराको ढुङ्गोमा कुदिएको छ
सुन्दर मायाका शब्दहरु
प्रथम विश्वयुद्धको सिपाही: हवल्दार वरदान किराती
जन्म: वि.सं .१९७२ साल, वोमाटेममा, मृत्यु: २०७३ साल भाद्र ५
निर्माण मिति २०७३ साल भाद्र ७
बर्माको लडाइँमा प्राप्त पदक र कथाहरु
स्मृति बनाउने श्रीमती जिवनेम्मा
मान्छेहरु सावाखोलाको चौताराबाट उँभो जाँदैछ
कोही चौतारामा बिसाएर तल झर्दैछन् ।
युद्ध किन भयो ? थाहा छैन
चोट यो सानो चौतारामा लेखिएको छ
आँसुको थोपाले जिवनेम्पाको सम्झनामा अमर मायाको स्तम्भ छ
मानौ भिक्टोरिया पार्क केही होइन
कलकत्ताको न त ताजमहल
लाहुरबाट जति पटक जहान ल्याए
फर्कदा घरमा थिएन जिवनेम्पाको
अन्तिम ल्याए जीवनेम्पाले
भाग्यवती जिवनेम्मा
कसले भन्न सक्छ जीवनको मूल्य
आफ्नै भाग्यको खेलहरुमा ।
चैतको रुखो बतास
लाकुरीसँगै खेल्दैछ चौतारीमा हल्लिएर
चप्लेटी ढुंगाहरु भत्किन लागेँ भल पहिरोले लतारेर
मायाले मुछिएका अक्षरहरु
कतै मेटिदैछन् लेउलागेर कतै चोइटिएर
जिवनेम्पाको चौतारामा मायाका शब्दहरु ।
दुवै सकिए
चौतारी प्रतीक छ मायाको
उँधो तक्दिर खोज्न जानेलाई
उँभो खोजेर आउनेलाई
जिवनेम्पाको चौतारामा स्मृतिको छायाँ छ
भन्नै पर्दो रहेछ
टुटेपछि माया कडा हुन्छ
पहिलो भेटमा माया गाढा हुन्छ
यो चौतारामा जीवन बिसाएर उसरी नै कोहो गीत गाउनेहरु ?
यो साँझमा
जसले एक थुंगा लाहुरे फूल चौतारामा छोडेको छ |