कलम

जबजब हत्केलाकाे कारागारबाट
फुत्किएर कलम आत्महत्या गर्न बज्रन्छ
कागजकाे मैदानमा,
त्यहि बियाेगमा आँखाबाट सँगसँगै खस्छन्
आँसुकाे राँके जुलुस ।
अनि,
चिठी र लाठी चार्जमा जुट्छन चोक चोकमा प्रहरीहरू,
लात र बातबिच प्रताडित बन्छ मेरो कलम ।
स्वतन्त्रता,मौलिकताको हनन् गरेको आरोपमा
मुद्दा चल्छ।
उभ्याईन्छ, कठघरामा मेरो कलमलाई।
वादी प्रतिवादीको वकालत सुन्छ,न्यायाधीश।
कापी उभिन्छ,प्रतिरक्षामा कलमको।
अहँ ! सुन्दैन न्यायाधीश कापीको कुरा।
निर्णय सुनाउन कम्मर कस्छन्, फैसलाधीश,
संविधान मिचेको तथा कानुनको
अवज्ञा गरेको आरोपमा,
सर्वस्वहरण सहित जन्मकैद हुन्छ।
कारागारमा मेरो कलम
जुन,
स्वतन्त्रताको पक्षमा जुटिरह्यो,
मानवताको हित चाहिरह्यो,
अत्याचार विरुद्ध जुधिरह्यो,
समानता चाहिरह्यो।
बलात्कार,हत्या, लुटको निर्मूल पार्न खोजिरह्यो,
हक अधिकार खोज्न संघर्षमा डटिरह्यो,
आँखिर,
आज कैद छ,मेरो प्यारो साथी कलम।
यो देशमा न न्याय न स्वतन्त्रता,
अत्याचार भ्रष्टाचार र लुटेराहरुको राज्यमा
दबित मेरो कलम,
ऊ उन्मुक्त हुन चाहन्छ,
शान्तिको सास फेर्न चाहन्छ,
हो, उ मेरो हत्केलाबाट
कागजमा आत्महत्या गर्नको कारण खुलाउदै,
राज्यलाई कानुनलाई प्रतिपक्षमा
राखेर सुसाइट नोटमा……….!

Facebook Comments