करेन्ट लागेर एकै दिन पाँच जनाको मृत्यु

काठमाडौं । सुरक्षित विद्युत संचालन नभएका कारण पाँच जनाले अकालमा ज्यान गुमाएका छन् । विद्युतमा विभिन्न किसिमका सुरक्षा यन्त्र जडित भएपनि समय समयमा यस्ता घटनाहरु भइरहेका छन् । आखिर कहाँ चुकेको छ त हाम्रो सुरक्षा ? अनि किन भइरहेको छ यस्ता घटनाहरु । आजको युगमा विद्युत एक महत्वपूर्ण अत्यावश्यक भएपनि यसलाई सस्तो, भरपर्दो, सुरक्षित बनाउने काममा नेविप्राले काम गर्न सकेन, नागरिक र बिद्युतकर्मीको सुरक्षामा ध्यान दिन नसकेका कारण नेविप्रा उदासिन देखिन्छ ।
यसरी दुर्धटनामा परि घाइते वा मृत्यु भएकाको परिबारले उपचार, राहत र क्षतिपुर्तिसमेत बेहोर्न पर्ने प्राधिकरणको नीतिमा उल्लेख भएपनि सहज रुपमा त्यसो हुन सकेको पाइदैन । यसका लागि विभिन्न प्रावधान राखेर त्यसलाई पीडितको कहनी अझ पीडादायक बनाउने गरेको छ ।
यसरी ज्यान गुमाउनेमा झापा, दमक नगरपालिका २ हुम्से दुम्से सामुदायिक वनभित्र रिसोर्टको काम गर्ने बा.१ क ८०९६ नम्बरको जेसिबिका सह चालक सल्यान कालीमाटी गाउँपालिका ४ बस्ने २६ वर्षीय चित्र बहादुर ओलीको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ । काम गर्ने क्रममा जेसीबीले बिजुलीको तार छुन लागेकोले हटाउँदा करेन्ट लागेर गम्भीर घाइते भएका चित्र बहादुरको आम्दा अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यसैगरी सिरहा, लहान नगरपालिका २३ गढिया बस्ने ७० वर्षीय गुल्टेन महतोको आफ्नै घर मर्मत गर्ने क्रममा विद्युतको मिटरबाट करेन्ट लागेर शुक्रबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । भने मोरङ, केराबारी गाउँपालिका ९ देवीझोडा बस्ने पूर्ण बहादुर लिम्बुकी छोरी १३ वर्षीया सपना लिम्बुको आफ्नै घरमा करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।
उता, उदयपुर, बेल्का नगरपालिका १ आम्बासी झाँक्री टोल बस्ने ५१ वर्षीय डम्बर तामाङको आफ्नै घरमा बिजुलीको प्लग जोड्ने क्रममा शनिबार बिहान करेन्ट लागेर तामाङको मृत्यु भएको हो । धनुषा, मिथिला बिहारी नगरपालिका ललिया बस्ने ५० वर्षीय चन्देश्वर साहको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ । सोही ठाउँस्थित आफ्नै खेतबारीमा सिंचाईको लागि लगिएको बिजुलीको मिटरको तार बाँधेको बाँस लठ्ठी उठाउने क्रममा करेन्ट लाग्दा साहको मृत्यु भएको बताइएको छ । यस विषयमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments