काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाइट्रोजेपाम १ हजार २ सय ट्याब्लेट, डाइजेपाम १ सय ३५ एम्पुल, फेनरागन १ सय ३४ एम्पुल, नुर्फिन १ सय एम्पुल र ब्राण्ड तथा जेनरिक नाम उल्लेख नभएको १ सय ३० एम्पुल सहित ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी जयपुर गाउँपालिका-२ घर भएका ३५ वर्षीय वीरेन्द्र कुमार साह, सिरहा लहान नगरपालिका-१३ घर भई हाल काठमाडौं बस्ने २४ वर्षीय अमर यादब र सोही नगरपालिका-२३ घर भएका २४ वर्षीय ईन्द्रजित सहनी रहेका छन् । राजबिराजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.८ ख ६४९७ नम्बरको बसमा महानगरीय प्रहरी बृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा क्यावीनमा बोराभित्र लुकाई ल्याएको उक्त लागूऔषध फेला परेको थियो । प्रारम्भिक सोधपुछको क्रममा उक्त बसका सहचालक वीरेन्द्र कुमारले अमर र ईन्द्रजितलाई दिन उक्त लागूऔषध ल्याएको खुलेपश्चात काठमाडौं महानगरपालिका-१४ स्युचाटारबाट लागूऔषध लिन आएको अवस्थामा उनीहरुलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१३ सैनिक टोलबाट अन्दाजी ५० ग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित सुनसरी धरान उपमहानगरपालिका-७ बस्ने ३२ वर्षीय सुबास तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कञ्चनपुर, बेलौरी नगरपालिका-१० दुखी टोलबाट ३ ग्राम ७० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका-१० बस्ने २१ वर्षीय मनिष सुनार र कैलाली धनगढी उपमहानगरपालिका-२ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी भुडा र सशस्त्र प्रहरी बल नेपाल बिओपी भुडा कञ्चनपुरको संयुक्त टोलीले से.१ ह १४२९ नम्बरको अटो जाँच गर्ने क्रममा अटोमा सवार उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
Facebook Comments