सरकारी रूपमा कसैको नाममा दर्ता नभएको खेतीयोग्य पर्ती जग्गा ऐलानी हो । त्यस्तो जग्गाको लालपुर्जा हुँदैन अर्थात् भोगचलन गर्नेका नाममा दर्ता भएको हुँदैन । त्यसो हुँदा उसले धितो राखेर बैंकबाट कुनै कामका लागि कर्जा लिन पाउँदैन । सरकार वा संस्थाहरूबाट खेती वा उद्योगका लागि कुनै सुविधा पनि पाउँदैन । पहिला पहिला त छेउछाउमा भएका नम्मरीदारले आफ्नो सन्धिसर्पन चर्च्यो भनेर ऐलानीवासीलाई मनपरी ढङ्गले हेप्न पाउने हुँदा सधैँ धुरुधुरु रुवाउँथे । ऐलानीको बालीनाली चराइदिन्थे र हप्कीदप्की गरिरहन्थे । पहुँचवाला छिमेकी देशले सिमाना छेउछाउमा बसोवास गर्ने नेपालीलाई जस्तै नम्मरीवालाले ऐलानीवासीलाई सताइरहन्थे ।
टाठाबाठा र पहुँचवालाले कर्मचारीसँग मिलेर भित्रभित्रै आफ्नो नाममा दर्ता गराएर ऐलानीवासीको वास उठाउँथे । अहिले पनि त्यस्तो डर त छँदै छ । कुनै शक्तिशालीले खोस्ता पनि रोइकराई नलाग्ने त्रासले जहिल्यै मनमा वास गरिरहने हुनाले ऐलानीवासीको समस्या अजम्मरी भएको छ । ऐलानीबासीहरूले शक्तिशाली छिमेकी देशको सिमाना छेउछाउका नेपालीजस्तै र खोलाछेउ तथा पहिरो जान सक्ने ठाउँका बासिन्दाझैँ कहिले के हुने हो भनेर तर्सिरहने नियति भोगिरहनुपरेको छ । यस्तो परिस्थिति भोट माग्ने नम्मरीवालालाई भने खुब काम लाग्ने गर्छ । प्रत्येक चुनाव आउने बेलामा छिमेकी देशले मिचेको स्वदेशी भूभाग फिर्ता ल्याउने घोषणा गरिन्छ र ऐलानी जग्गा नम्मरी बनाइदिने प्रण पनि गरिन्छ । सायद अर्को अर्को चुनावमा भाषण गर्न चाहिन्छ भनेर होला, स्थानीयदेखि केन्द्रीय तहसम्मका सरकारमा जानेहरू ऐलानीलाई नम्मरी बनाउन पटक्कै चाहँदैनन् ।
जमीनजस्तै ऐलानी जागिरेको अवस्था अझ त्योभन्दा पनि दुःखदायी छ । सरकारी कार्यालय, विद्यालय, महाविद्यालय, विश्वविद्यालयका स्थायी कर्मचारी, शिक्षकबाहेकका निजी विद्यालय, महाविद्यालय, व्यक्तिगत तथा सामाजिक संघसंस्थामा मरुन्जेल काम गरेर अकासे खेतका किसानझैँ पानी परेछ भने जति फल्छ त्यति खाउँला भनेर कहिले काहीँ अलिअलि पारिश्रमिक पाएर पेटपालो गर्नुपर्ने पेसा ऐलानी जागिर हो । जसरी नम्मरी जग्गा बैंकमा धितो चल्छ, कृषि र उद्योगमा सहुलियत पाइन्छ, त्यसै गरी नम्मरी जागिरेले सुविधा र अवसरहरू पाउँछन् किनभने उनीहरू राष्ट्रसेवक हुन् नि त, तर ऐलानी जागिरे राष्ट्रसेवक नभएकाले त्यस्तो सुविधा त होइन, उचित पारिश्रमिक पनि पाउँदैनन् । मुलुकमा प्रत्येक आर्थिक वर्षमा सरकारबाट बजेट भाषण हुन्छ । त्यसमा नम्मरी जागिरे अर्थात् राष्ट्रसेवक कर्मचारी र शिक्षकहरूको तलब बढ्छ अनि त्यस बेला राष्ट्रसेवकका रूपमा दर्ता हुन नसकेकोमा ऐलानी जागिरेको मन धुरुधुरु रुन्छ । तलब बढेको बहानामा महगीले हिमालचुली चुम्छ र ऐलानी जागिरेलाई जीवन धान्न झन्झन् मुस्किल हुने गर्छ ।
नम्मरी जागिर चौथाइ तलबमा कसैलाई ठेक्कामा दिइराखेर आफू ठेक्कापट्टामा भिड्न, राजनीतिक दलको झोला बोकेर विभिन्न दाउमा हिँड्न र सेवाग्राहीका अगाडि जुँगामा ताउ लगाउन पनि मिल्दो रहेछ । बिरामी नभई बिरामी बिदा पाइँदो रहेछ । कतिपय ठाउँमा त उत्कोचबाटै मोज गर्न पाइँदो रहेछ । उमेर पुगेर जागिर सक्किने बेलामा ठाउँ साटासाट गरी ग्वाम्म पैसा लिएर दुध दुहुँदादुहुँदा गरेर थारिएको भैँसी बगरेलाई बेचेझैँ बेच्न पाइँदो रहेछ । नम्मरी जागिर भएपछि यस्ता मनग्गे सान र पर्लए सुविधा भएकाले यसको उपयोग वा दुरूपयोग जे जति पनि गर्न पाइँदो रहेछ । यो कुरा एक जना नम्मरी जागिरेले नेपाल सरकारको मुख्यसचिवको जागिर किलामा दाम्लो अल्झाइराखेर विदेश पैसा कमाउन गएको समाचार त्यति पुरानो नभएकाले तपाईँहरूलाई पनि अलिअलि त थाहा होला नि ! नम्मरी जागिरे राष्ट्रसेवक भएकाले सायद त्यसो गर्न पाउनु मुनासिफै होला अथवा भाग्गेकै कुरा पनि होला । उमेरदार ऐलानी जागिरे हुनुहुन्छ भने नम्मरी नागरिक बन्नूहोस\, भाग्गेमा भए मरिहत्ते गरेर भोलि तपाईँ पनि राष्ट्रसेवक बन्नुहोला, शुभकामना छ ।
ऐलानी जागिरेले उपर्युल्लिखित सुविधा पाउनु त के श्रमअनुसारको पारिश्रमिक पाउन पनि परै जाओस्, तोकिएको पारिश्रमिक निरन्तर पाउँदैन, केही समस्या होस् वा अलि लामो बिरामी भए वा पारिश्रमिक समयमा पाइयोस् भनी कुरा उठाए उसको जागिर चट् । कुनै कारणले देशमा समस्या आए, कुनै आन्दोलन भए, व्यवस्था परिवर्तन भए, जागिर गरेको व्यवसायमा कम नाफा भए वा घाटा भए अथवा न्यायप्रेमी क्रान्तिकारीहरूले थर्काएर ठुलठुलो राशि चन्दा असुले, नत्र संस्था बन्द गर्दिने धम्की दिएर बकेर्ना पाडाबाछाले धम्का हानेझैँ धम्क्याएर चुसे वा भनेजति दुहुन नपाएमा तालाबन्दी गरे अथवा वर्णनीय र अवर्णनीय अप्ठ्यारो परे ऐलानी जागिरेकै थाप्लामा फ्याप्लो पिसिन्छ र त्यसको रोटी चैँ नम्मरीले नै खाइन्छ ।
माथिको कुरा नपत्याए अहिले हेरौँ त विश्वव्यापी महामारी कोभिड १९ ले गर्दा ऐलानी जागिरेका बालबच्चाका पेटमा माकुराले लाएको जालो पछि चुनाव आउने बेलासम्म कसले थाहा पाउँछ र < ऐलानी जागिरेहरू भोकमरीले मरिहालेनन् भने भोट आउँदा चैँ पक्कै अघाउन्जेल भाषणको आश्वासन पाउनेछन् र रासनको स्रोतको आसमा आफूमाथि शासन गर्नेलाई फेरि सिंहासनमा बसाउन लाग्नेछन् । जनहितका लागि भनिएको आन्दोलन, बाढी, पहिरो, अपराध आदिले निर्दोष र असुरक्षित स्थानका बासिन्दाको ज्यान गइसकेपछि क्षतिपूर्तिको हल्ला गरेझैँ आश्वासन दिइनेछ । राष्ट्रसेवक नभए पनि त्यति आश्वासन पाउने चैँ उनीहरूको नैसर्गिक अधिकार सुरक्षित छ ।
जमिन र जागिर मात्र होइन जनता पनि नम्मरी र ऐलानी दुई वर्गमा विभाजित छौँ । एकदलीय युगमा भितर र इतर दुई खाले जनता थिए । भितर नम्मरी नागरिक थिए भने इतर ऐलानी जनता थिए । राज्य वा सरकारसँग सम्बन्धित कुनै सुअवसर अथवा जिम्मेवारी लिनुदिनुप¥यो भने इतरबाट भितर (निर्दलीय) पक्षमा परिणत भएपछि मात्र नम्मरी अर्थात् योग्य नागरिक हुन्थ्यो । बहुदलीय प्रजातन्त्रको विकसित रूप आधुनिक लोकतन्त्रे वा गणतन्त्रे युगमा त नम्मरी र ऐलानी जनताबिचको भिन्नता छर्लङ्गै भन्दा पनि अझ ह्वार्लाङ्गैसँग प्रस्ट पारिएको छ । कुनै पार्टीको पुच्छर पक्रेर नेताका इसारामा सेतोलाई कालो र कालोलाई सेतो भन्न अघिसर्नेजति नम्मरी नागरिक भए भने कुनै दलको दीक्षा नलिएर सेतोलाई सेतै र कालोलाई कालै भन्ने अव्यावहारिक वा अयोग्य मान्छेजति ऐलानी जनता हुन पुगे ।
जसरी नम्मरी जग्गाको लालपुर्जा हुन्छ, त्यो बैंकमा धितो चल्छ, त्यसै गरी तपाईँ नम्मरी जागिरे हुनुहुन्छ भने तपाईँले हरेक सुअवसरहरू पाउन सक्नुहुन्छ । यदि तपाईँ नम्मरी नारगरिक हुनुहुन्छ भने कुनै समूहप्रमुख, टोलप्रमुख, वडाप्रमुख, विद्यालयप्रमुख, क्याम्पसप्रमुख, गाउँप्रमुख, नगरप्रमुख, प्रदेशप्रमुख, सरकारप्रमुख, राष्ट्रप्रमुख आदिइत्यादि प्रमुखै प्रमुख बन्ने अधिकारी हुनुभो । नम्मरी नागरिक भएपछि तपाईँले सबैतिरको अदच्छेदेखि सचिवलगाएत कुनै पनि नम्मरी जागिर पाउनेदेखि कुनै सार्वजनिक संघसंस्थामा अगुवा बनेर सेवा गर्ने सुअवसर पाउन सक्ने हुनुभयो, यद्यपि तपाईँको काम ‘अगुवा’ शब्दको ‘अ’ का ठाउँमा ‘ह’ चैँ मिल्ने खालको भए पनि क्यै छैन । तेतिमात्र होइन नम्मरी नागरिक भएपछि मन्त्रालय धाउनदेखि ठेक्कापट्टा हत्याउनेसम्म, देशका सबै मौका पाउनेदेखि समाजका ऐलानी जनतालाई मनपरीसँग दाउनेसम्मको अधिकारी तपाईँ बन्नुभयो बुझ्नुभो ?
ऐले कोरोनाले ‘कौन कौन हँसना और कौन कौन रोना’ बनाएको बेला ऐलानी जागिरेको जागिर खोलाधारको खेत भएर बाढी पैराले बडारेझैँ स्वाहा भएको छ तर त्यसबारेको समस्या पनि खोलाको गीत हुँदै जङ्गलको रुवाइ हुन पुगेको छ । यो कुरा कुनै नम्मरी निकायलाई चासोको विषय भएको छैन, किनभने ऐलानी जागिरे राष्ट्रसेवक होइनन् नि त ! सायद ऐलानी जागिरमा धेरैजसो ऐलानी नागरिक नै पनि होलान् । यो कुराले ऐलानी जग्गामा बसोबास गर्ने, ऐलानी जागिर खाने र ऐलानी नागरिक भएका त्रिऐलानीहरूले कुनै पनि सुरक्षा, सुविधा र सुअवसरबाट वञ्चित हुनुपरेकाहरूलाई मात्र असर पु¥याएको छ किनभने उनीहरू दासयुगका अछूत भनिएका जाति र सामन्तवादी युगका रैतीका नयाँ संस्करण हुन्, मालिक, शासक र राष्ट्रसेवक वर्ग र जातका मान्छे होइनन् ।
अँ, चुनाव आउन लाग्दा चाहिँ प्रत्येकपल्ट æ‘तिमीहरूको ऐलानी जग्गा नम्मरी बनाइदिन्छु- भनी आश्वासन दिएर भोट बटुलेझैँ तपाईँको ऐलानी जागिर पनि पक्का दर्तावाल नम्मरी हुनहुन आँट्छ । चुनाव सकिएपछि तपाईँलाई त्यही जितुवाले नै विभिन्न बहानामा ढाँट्छ । अथवा भोट सकिएपछि न जग्गा नम्मरी बन्छ न तपाईँको ऐलानी जागिर देशको कुनै अभिलेखमा राष्ट्रसेवाका रूपमा दर्ता हुन्छ । यसो किन हुन्छ भन्नुहोला भने नि भोट फेरि पनि आउँछ, त्यस बेला के भनेर तपाईँसँग भोट माग्ने < त्यो नम्मरीहरूको समस्या पनि तपाईँ हामीले बुझिदिनुपर्यो नि होइन र ? बसोबास र जोतभोग ऐलानी, नागरिक ऐलानी र जागिर पनि ऐलानी भएका त्रिऐलानीहरूको पेन्सन पाक्ने ठाउँमा पहिलेदेखि अहिले हुँदै भविष्यसम्म नै टेन्सन चैँ मज्जाले पाक्ने कुरा निश्चित छ है ।
दास युगपछि सामन्तवादी युग पार गरेर नेपालमा प्रजातन्त्र नाम गरेको नवसामन्तवादी पुँजीवादी युग आएको भरखर सत्तरी वर्षमात्र त भएको छ नि । अझ त्यसले लोकतन्त्रे वा गणतन्त्रे रङको लुगा ओडेको भने गोडापन्ध्रेक वर्ष मात्र त हुन लागेको छ । यस्तो युग ल्याउन जनतालाई उकास्ने, लोभ्याउने, बलि चढाउने, अपाङ्ग बनाउने, बेपत्ता पार्ने र यातना दिएर तड्पाई तड्पाई मार्नेजस्ता महान् गौरवशाली पुनीत कार्यको दुःख गर्ने दलका नेताहरू र उनीहरूका पार्श्ववर्तीहरूको पहिला व्यवस्थापन पनि त हुनुपर्यो । अहिले उनीहरू को दलको प्रमुख बन्ने र को विमुख बन्ने, को मन्त्री र सांसद् बन्नेजस्ता अत्यावश्यक प्राथमिकता दिनुपर्ने समस्या मिलाउन व्यस्त भएर भ्याइनभ्याइ भएको बेला ऐलानीहरूले धैर्य गरेर रमिता हेर्नु आफ्नो कर्तव्य हुनेछ ।
फेरि उनीहरूलाई यो ठाउँमा आइपुग्ने आशीर्वाद दिएर सहयोग गर्ने मात्र होइन सर्तअनुसार प्रधानमन्त्री, मन्त्रीलगायतका पद प्रदान गर्ने सहयोगी छिमेकी सम्राटहरूलाई देशको वनजङ्गल, ढुङ्गारोडा, जलस्रोत, जग्गाको भाग, साँधसिमाना, नागरिकताको प्रमाणपत्र, पाखुरे युवायुवती, चेलीबेटी आदि सुम्पेर खुसी पनि त पार्नुप¥यो नि । त्यसो नगरी नयाँ र स्वाधीन नेपाल कसरी बन्छ र पुरानै भइहाल्छ नि । त्यसो नगरे देशका स्वाधीनता, सार्वभौमिकता र राष्ट्रवाद, प्रजातन्त्र, गणतन्त्र आदि इत्यादि कहाँ जोगिन्छन् र ! देश र जनताको भलो गर्न त्यति सजिलो कहाँ छ र !
उक्त सबै कुरा मिलेपछि पार्टीप्रमुखहरू, राष्ट्रप्रमुखहरू, सरकारप्रमुखहरू, मन्त्री र सांसद्हरूको तलबभत्ता, सरसुविधा र सुरक्षाको मनचिन्ते व्यवस्था भएर उब्रेछ भने त्यसपछि उनीहरूका समर्थकहरू अघाएपछि उनीहरूका नजिककालाई पाँचसात पुस्ताका लागि मात्र भएपनि बन्दोबस्त भएपछि, नम्मरी नागरिक र नम्मरी जागिरे राष्ट्रसेवकलाई ओडिओछ्याइ भएपछि, यसो खुद्राखुद्री अरबौँ र खरबौँको भ्रष्टाचार गरेर बचेछ भने, त्यस किसिमको व्यवस्थापनबाट फुर्सद पनि भएछ भने तुरुन्त पाँचसात पुस्तापछि ऐलानीहरूको पनि व्यवस्थापन होला । उनीहरूका जग्गा नम्मरी होलान्, सबै नम्मरी जागिरे अथवा श्रम गर्नेहरू राष्ट्रसेवक मानिएलान् वा सबैको अभिलेख देशमा दर्ता होला । धैर्य गरेर नम्मरी नयाँ नेपाल निर्माता र राष्ट्रसेवकहरूलाई आधा पेट खाएर वा खाली पेटले भए पनि सहयोग गरिरहे पाँचसात पुस्तापछि छिट्टै ऐलानीवालाहरूको पनि पालो आउला । त्यसका लागि भक्तजनले ईश्वरको दर्शन पाउन रामराम जपिरहेझैँ आशा नमारी भोट हालिरहनु र चाकरी चैँ गरिरहनुपर्छ है ।
यदि त्यति पनि धैर्य गर्न नसक्ने हो भने ऐलानी जति सबै एकजुट भएर कि त नम्मरीवालाहरूको एकलौटी सुविधाको आली लडाउन वा अल्मल्याएर लिएको भेदभावपूर्ण मनपरी गर्ने एकलौटी अधिकारलाई धुतधात पार्न सक्नुपर्यो कि सबै नम्मरी कि सबै ऐलानी पार्न कम्मर कस्नुपर्यो है । नत्र भने हुतीहारा, पहुँचविहीन, निम्छरा ऐलानी जागिरे अर्थात् “किन रोइस् मङ्गले आफ्नै ढङ्गले” किसिमका अभागीहरूलाई बेलैमा बुद्धि पुर्याएर नम्मरी नागरिक भई नम्मरी जागिरे हुन नजानेकोमा खुच्चिङ् पर्यो, चाकरीवाल वा आफ्नै लागि विद्रोही बनेर चलाखीले आफ्नो नम्मरी भाग्य बनाउने कुरा नबुझेकोमा पनि ठिक्क पर्यो । आखिर गफै त हो नि … ।
Facebook Comments