नेपालमा रहेका ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलहरुको बारेमा अध्ययन, अनुसन्धान तथा तिनिहरुको संरक्षणका लागि नेपाली सेनाले सम्बद्ध पक्षहरु संग छलफल, समन्वय एवं सहकार्य गर्दै आएको छ । यो कार्य प्रधान सेनापतिको कमाण्ड मार्ग निर्देशन अनुसार स्थानिय निकायको समन्वयमा त्यँहा तैनाथ नेपाली सेनाका पृतना, वाहिनि, गण र गुल्मले विभिन्न तवरबाट सम्पादन गर्दै आएका छन । कोभिड १९ महामारीका कारण केही प्रभावित भएता पनि यस कार्यलाई सम्पन्न गर्न नेपाली सेनाका सम्बद्ध निकायहरुबाट विभिन्न प्रयासहरु भईरहेका छन् ।
नेपाली सेनाले गत वर्ष देखि नै विभिन्न कार्यहरु थालेको थियो । यस विषयमा छलफल, अन्तरक्रिया मार्फत बुझाईमा एकरुपताको लागि मिति २०७६ भाद्र १२ र १३ गते नेपाली सेनाका फर्मेशन, युनिटहरु र पर्यटन बोर्डका पदाधिकारीहरु तथा विज्ञहरु सम्मिलित गराई सेमिनार सम्पन्न गरेको थियो। त्यसै गरी मिति २०७६ पौष २ गते नेपाल पर्यटन बोर्ड र पर्यटन व्यवसायीहरु सम्मिलित बृहत सेमिनारमा तयारी सम्बन्धी छलफल गरेर मिति २०७६ माघ २, ३ र ५ गते सबै सरकारी एव गैरसरकारी निकायहरुको सहभागीतामा एकीकरण मार्ग कार्यक्रम बृहत सेमिनार सम्पन्न भइ नेपाल सरकारमा वजेट तथा सैद्धान्तिक प्रस्तावहरु पठाइएको थियो।
प्रस्तुत प्रस्ताव र स्वीकृति पश्चात श्री नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा निम्न अनुसारको कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरि प्रतिवेदनहरु हस्तान्तरण गरिएको थियो भने विभिन्न कार्यहरुको शुरुवात पनि भएको थियो।
नेपालको ऐतिहासिक एवं एकीकरण अभियानमा प्रयोग भएका गढी/किल्ला र युद्धस्थलहरुको स्थलगत भ्रमण पश्चात महत्वपुर्ण तथ्यहरु समावेश गरि सोको प्रो-फाईल तयारी । नेपाल एकीकरणको दौरान प्रयोग भएको गोरखादेखि काठमाडौँ सम्मको ऐतिहासिक पद मार्गको संभाव्यता अध्ययन प्रतिवेदन । बृहत्तर सिन्धुलीगढी पर्यटकीय क्षेत्र विकास गुरुयोजनाको प्रतिवेदन ।
गोरखादेखि काठमाण्डौसम्म एकीकरणको दौरान प्रयोग भएको मार्गमा नेपाली सेनाका प्रथम 5 कम्पनीहरु (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणी र सवुज) को झण्डा समावेश गरी Torch सहित एकिकरण पदयात्रा सम्पन्न गरिएको थियो भने सिन्धुलीगढीमा युद्ध संग्रहालय निर्माण कार्य अगाडी बढाइएको थियो । त्यसै गरी काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका स्थित शारदाकोटमा पृथ्वी गढी भ्यू प्वाईन्ट निर्माण कार्य तथा वलभद्र कुँवर पार्क निर्माण सम्पन्न गरीएको एवं पाल्पा दरबार सैनिक संग्रहालयमा ऐतिहासिक शस्त्र-अस्त्र कक्षको निर्माण कार्य सम्पन्न गरेको तथा बारा जिल्लामा एकीकरण स्मृति उद्यान निर्माण कार्य शुरु गरेको थियो ।
यो वर्ष पनि नेपाली सेनाले यस सम्बन्धि विविध विषयहरुलाई स्वास्थ्य सुरक्षाको ख्याल राख्दै अघी बढाइ रहेको छ । यस कार्यको लागि चालु आ.व.मा रु.४ करोड ९९ लाख ६९ हजार विनियोजन भएकोमा सो बाट निम्न १२ वटा कार्यक्रमहरु संचालन गर्न मिलाइएको छ । उक्त कार्यक्रमहरु नक्सा तथा लगत स्टिमेट तयार भई वोलपत्र लगायत खरिद प्रकियाका कार्यहरु कार्यक्रम संचालन गर्ने नेपाली सेनाका स्थान विशेषका युनिटबाट शुरु भएको छ ।