काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य केशव बडालले नेकपामा सबै दोष केपी ओलीमाथि लगाएर बदनाम गर्ने काम भएको बताउनु भएको छ । बालुवाटार आज बसेको नेकपाको स्थायी कमिटी बैठकमा बोल्दै नेता बडालले पार्टी विधि प्रकृयाबाट चल्नु पर्छ भन्ने नेताहरुले नै विधि प्रकृया नमानेको बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘सबै दोष केपी ओलीलाई लगाउने काम भएको छ । जहाँ जे समस्या भएपनि ओलीलाई दोष लगाउने । सचिवालयमा रहेका नेताको कुरो सुन्दा साढे दुई वर्ष पार्टी कसरी यहाँसम्म आइपुगेछ भनेर अचम्म लाग्यो ।’ ‘यसरी कम्युनिष्ट पार्टी अगाडि बढ्न सक्दैन । सबैले आफ्नो गल्ती सच्याएर अघि बढ्नुपर्छ’, नेता बडालले भन्नुभयो, ‘कमजोरी केपी ओलीका पनि होलान्, अरुका पनि हुन्छन् । सच्याएर अघि बढौँ ।’
बडाल ओली पक्षबाट बोल्ने नेता हुनुहुन्छ । आजको बैठकमा नेता बडालले मात्रै आफ्नो धारणा राखेको बुभिएको छ त्यसपछि आधा घण्टाका लागि स्थागित गरिएको बैठक अझै सुरु हुन सकेको छैन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर केहीबेर अघि शितलनिवासबाट बालुवाटार फर्किनु भएको छ ।
Facebook Comments