आयोजना प्रमुख जैसवाललाई भ्रष्टाचार मुद्दा 

नेपाल विद्युत प्राधिकरण, हेटौंडा-भरतपुर-बर्दघाट २२० के.भी. प्रसारण लाईन आयोजना हेटौंडाका कार्यालय प्रमुख (इन्जिनियर, नवौं तह) इश्वरी प्रसाद जैसवालले निर्माणाधिन प्रसारण लाइन भित्रपर्ने रुखहरु कटान गरी ढुवानी तथा घाटगद्दी कार्य सम्पन्न गरेको रकम भुक्तानी दिनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिई गएको टोलीले निज इश्वरी प्रसाद जैसवाललाई सेवाग्राहीबाट रु. १०,००,०००।– घुस/रिसवत बापतको रकम लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा नेपाल विद्युत प्राधिकरण, हेटौंडा-भरतपुर-बर्दघाट २२० के.भी. प्रसारण लाईन आयोजनाका प्रमुख इश्वरी प्रसाद जैसवालले उक्त आयोजनाबाट बिभिन्न मितिमा प्रकाशित सूचनाअनुसार प्रशारण लाईनभित्र पर्न गएको रूखहरू कटान गरी ढुवानी तथा घाटगद्दी गर्ने कार्य गरेबापतको रकम भुक्तानी माग गर्दा आफ्नो पद, ओहदा र अधिकारको दुरूपयोग गरी भ्रष्टाचार गर्ने बदनियतपूर्ण मनसाय (Malafide Intention) राखी सेवाग्राहीसँग घुस/रिसवत लिएको देखिन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि भएको हुँदा निज इश्वरी प्रसाद जैसवाललाई बिगो रू. १०,००,०००/- (दश लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

Facebook Comments