कोही छैनन् कोठामा एक्लो छु । भाइद्वय र श्रीमती घर गएको पनि एक महिना भइसक्यो । बिहान अबेर सम्म सुत्ने बानी यथावत छ । बिहान सबेरै उठ्न कहिल्यै जानेन वा भनूँ चाहेन तर कार्य ब्यस्त रहदा भने ऊ यो नियमलाई उलंघन गर्छ ।
विहान कालो चियाले उसका काला ओठलाई पोले पछि ऊ, ओछ्यानलाई पट्याउँछ र उठ्छ । एक्लो भएको कारण खाना ऊ आफै बनाउँछ । खाना मीठो बनाउन चाहेको खण्डमा ऊ मीठो नै बनाउँछ तर ऊ अलि अल्छि पनि छ । एक्लैलाई ऊ त्यति मेहनत गर्न चाहदैन तर बाँच्नु अपरिहार्य छ । त्यसका लागि खाना बनाउँछ खान्छ । अनि ओछ्यानमा नै बसेर अध्ययनमा लाग्छ ।
बिषेश गरेर शंकर लामिछानेका कथा र निबन्ध । पारिजातका कथा र देवकोटाका कविताहरु उसका रुचिका बिषयहरु हुन । शंकर लामिछानेको कथामा पाइने त्यो दूरदृष्टि र स्वतन्त्रतालाई कसरी भूल्नु । पारिजातको अविवाहिता हुनुको अर्को पीडालाई देख्ने आँखा शास्वत हो । जुन कल्पना भन्दा धेरै पर रहेको हुन्छ । कथामा पाएको जिवन्त पात्रलाई चाहेर पनि हत्या गर्न सकिदैन । बरु तिनको ब्याथा सुन्न चनाखो हुनु पर्दछ ।
ऊ कबितामा पद्यलाई अलि बढी मन पराउँछ । खोजेर पढ्नु र पढ्न खोज्नु दुबै आवश्यक छ । अझ बस्तुगत र आत्मपरक निबन्ध पढ्नमा उसको सौख छ । अझ तुलनात्मक निवन्ध होस् आहा जाडोमा तातो कफीको पनि आवश्यकता पर्ने थिएन ।
हावाको वहाब पनि कति चर्केको हो । जहाँ सिरेटोले हानेर कान र गाला रातो भएको छ । त्यहीँ यो गुलावी लाली पोखिएको जस्तो देखिन्छ । तर, यर्थाथतामा आफूले चाहेको र पाएको कुरामा धेरै फरक रहेको पाईन्छ । जीवनको साँचो रुप त त्यो वेला देखिदो रहेछ ।
खाली छ ऊ कुनै काम गर्ने वातावरणमा र अवसर सिर्जना भएसकेको स्थीति छैन । यो दुई महिनाका लागि तसर्थ अध्ययन गर्ने अवसर उसलाई राम्रो सग मिलेकोछ । ऊ अध्ययन मात्र गर्दैन यो चौध वर्ष काठमाण्डौ बसाईको समीक्षा गर्न पनि ऊ पछि पर्दैन । कुनै समय थियो उसका लागि धेरै मान्छेले साथ दिन्थे । आज त्यो झन्झट छैन । कारण अव ऊ रित्तिएको छ । बैंक, गोजी र अन्य आम्दानी बाटसमेत ।
जागिरका लागि नधाएको भन्न मिल्दैन । अनुसन्धान गर्ने हो भने हजार कार्यालयमा उसको बायोडाटा पुगेको हुनु पर्छ । तर, कसैले पत्याएन कारण अयोग्यता हुँदै होईन । हो त के भने उसले आजका दिनसम्म गुलामी गर्न जानेन । यदी यो जानेको हुन्थ्यो भने आज ऊ कुनै संस्थाको प्रमुख वा राजदूत पदमा रहेको हुन्थ्यो । उसले केवल जान्यो खराब ब्यवस्था र पद्दतिको विरोध गर्न । त्यो खराव पक्ष थियो जीवनलाई पछि धकेल्न सहयोग गर्ने । बाँच्न त जो कोही बाँच्छ, तर आर्दशले बाँच्नु र कसैको गुलाम हुनुमा कत्ति फरक छ ? त्यो कुरा आत्मालाई थाहा छ । बाहिर भन्नु हुँदैन । बाहिर भन्यो भने त्यो आर्दशवानको बिल्लामा झुण्डिन्छ ।
यो धेरैलाई मन पर्दैन तर ब्यक्त पनि हुँदैन । मह खाने हो त्यसमा डुब्नु हुँदैन । डुब्यो भने निश्चित छ बाहिर निस्कन र बाह्य संसार हेर्न पनि सकिदैन । यो कुरा त सबैले बुझेकै कुरा हो । तर, यर्थाथतामा कोही आउन चाहदैनन् । कारण यसको जालो नपुगेको कुनै स्थान छैन । अझ सोझो अर्थमा यो लोलुपताबाट बाहिर आएको कोही छैन ।
यौवन अवस्थामा सहपाठी, सहयोगी अनि समकक्षीहरु थुप्रै थिए । प्रेम गर्ने समय बिताउने उल्लास भर्नेे साथीहरु । ती मध्ये धेरै जीवनको रसिकता पोख्ने र बाँड्ने पनि अधिक थिए । संसर्गको जीवन नभए पनि रमाईलो लाग्दथ्यो उनीहरुको हाँसोमा रमाउँदा । साच्चै वय समकक्षी दौतर मिल्दो जीवन रमाइलो नै हुन्छ ।
यौवन अवस्थामा साथीहरुकोबीचमा साटिने प्रेम र कतै बन्धन चुडिदाकोस्थिति खल्लो अनुभव सगाल्दै कष्टकर हुन्छ । तर, मलिलो माटोलाई बाढीले बगाएर लगे पनि पुन त्यहाँ उर्वर बनाउनु किसानको धर्म र कतब्र्य हुन आउछ भने झैं ती साथीहरु पुन उत्साही हुन्थेर साथ दिन्थे । उनीहरुलाई यतिसम्म कि भावनाले भरिपूर्ण शब्दमा सुन्दर शब्दहरु लेखेर ऊ कुनै उनीहरुका प्रेमी पे्रमिकालाई समेत अल्लादित पार्दथ्यो । पछि थाहा भयो त्यसो गर्नु उसका लागि अपराध र अमानवीय कार्य रहेछ । जो ती शब्द जालमा फसे, बिचरा केहीको जीवन धेरै दुःख पूर्ण रहृयो । जहाँ तिनीहरुलाई देख्दा उसलाई खल्लो अनुभव हुन्थ्यो ।
जीवनमा जीवनलाई हिडाउन धेरै कार्यहरु गर्यो । अर्काको काम गर्यो । सडकमा कपडा बेच्यो वा जे गर्दा जीवन गुजारा गर्न सकिन्थ्यो ती सबै गर्यो । जुन कानुनका दृष्टिले गर्नपाईने कार्यहरु थिए । अभाबै अभाबमा नभएपनि राम्रो खाएर तर तनाव सहदा सहदै लाग्यो डलर कमाउने एनजिओ खेतीमा, परिणाम शुरुमा राउटेलाई खेती के थाहा ? ऊ त्यसरी नै फस्यो । केही नपाई समय सिद्धियो । समय सिद्धियो के भन्नु आफ्नै जीवन बितायो र भएको अलिकति जोहो पैसा सिद्धयायो । सोझो ब्यक्ति ऊ आवश्यक्तामा साथीहरुले खर्च झिक भने झिक्यो पछि काम केही गर्न सकेन, पैसा फिर्ता भएन पनि । आशा राखेको छ फूल रोपेको ठाउँमा फूल नै उम्रिएला भनेर ।
मनमा यिनै अन्तर कुराहरुलाई खेलाउँछ । यो सहरमा अरुसँग बोल्ने कसलाई फुर्सद छ र ? थोरै लेख्ने बानी छ र पढ्ने त्यसैले किताब, कलम ,कापीमा हातका औला र दिमाग सबै साथीहरु हुन उसका लागि र कतै बाट आएका उल्टा शब्दलाई सुल्टा बनाई दिने दुई वटा पाले राखेको छ । आखिर उसको जीवनमा नोकर चाकर र उसलाई पालन पोषण गर्ने अभिभावक पनि यिनै हुन ।
कुनै बेला उसलाई यस्तो पट्यार लाग्छ कि चर्को आवाज निकालेर यो पर्खाल भत्काई दिऊ ताकी दुनियाँले देख्न सकोस र एउटा सभ्य समाजको शुरुवात र संवाद होस् । जहाँ एक अर्काको परिचय होस, बिरामी हुँदा आफ्नो पीडा अर्को ब्यक्तिले बुझ्न सकोस । ऊ अन्धकारपूर्ण कोठामा बसेर यस्तै आत्मीय सदभावको आशा राख्दछ यो स्वार्थी सहर बाट ।
यो सालको खडेरी त्यसै पनि उराठी छ वातावरण । कतै एक छिटा पानी छैन । तर होलीको रैनक छाएको हुनाले फोहोर पानी कै उपयोग गर्दैछन साना बाल बच्चाहरु र युवा युवतीहरु । कति चोटी सिकार भईन्छ यस्ता शिकारीहरु बाट । बेचैनी बढिरहेको समयमा यी अमानवीय कार्यले झनै तनाव थपिदिन्छ उ, सोच्छ । झोक चल्छ गएर थप्पड दिन तर अरुले गरेको गल्ती छोप्ने समाजमा बसेको हुनाले त्यो हिम्मत त्यसै सेलाएर जान्छ अनि चुपचाप निर्धो भई अघि बढ्छ ।
काम केही नभए पनि साथीभाइ भेटघाट र आफ्नो कामको बारेमा बुझ्नका लागि ऊ सडक नाप्ने गर्दछ । प्राःय बिहान देखि बेलुका सम्म । शुन्यतापूर्ण नै भएपनि कठिन छ जीवनलाई बचाउन । जीवनलाई तरंगीत पार्नु, लहराउनु र फूलाउनु त छँदैछ । त्यसो हुनाले जीजिबिषालाई मार्न सकिरहेको छैन ।
जीवनको अर्थबारे धेरै परिभाषाहरु पढेर पनि आफूलाई सुहाउदो परिभाषा भेटिएन । यत्रा धेरै शुत्रहरु बनेका छन् । जसको कारण काम गर्न वैज्ञानिक युगमा धेरै सजिलो भएको छ । के ती बैज्ञानिकहरु असफल हुन त पक्कै होईनन् । उनीहरुको सबै सोध अनुसन्धान सफल भएको छ । तर, उसको जीवनमा लागू गर्न सक्ने परिभाषा भेटिएन । आखिर उसले आफूभित्र आफूलाई नै भेट्न सकेन । यो आफैमा एउटा खोज हो र यो खोज्ने प्रयास सदासर्वदा रहने छ । यो खोजको अन्त्य सायद जीवनको अन्त्य भन्दा पनि पर हुन्छ होला । उसको मुखबाट अन्तिम सत्य बाहिर आयो । आखिर केही गरिएन जीवनमा जीवनको स्वतन्त्रतालाई छोडेर । यस्तै विचारमा हराउँदा हराउँदै उसले पल्लोघरको झ्यालबाट सललल एक भल्को पानी बगेको देख्यो । जुन पानीले थोरै जमिन भिजेको देख्यो । बाँकी जमिन त अहिले पनि उस्तै सुख्खा र धुलाम्मे थियो ।
Facebook Comments