अर्थमन्त्री खतिवडा र नेपालका लागि बंगलादेश राजदूत मास्फी बिन्ते साम्सबीच भेट

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि बंगलादेश महामहिम राजदूत मास्फी बिन्ते साम्सबीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेट भयो । आफ्नो ७ वर्षे कार्यकाल पुरा गरी बंगलादेश फर्कन लाग्नुभएका महामहिम राजदूतले माननीय अर्थमन्त्रीसँग बिदाई भेट गर्नुभएको हो ।
भेटमा अर्थमन्त्रीले नेपाल र बंगलादेश बीच ५ दशकभन्दा लामो सम्बन्ध भएको उल्लेख गर्नु हुँदै द्विपक्षीय व्यापार, उर्जा र लगानीका विविध आयाममा दुवै देश बीच सहकार्य भैरहेको धारणा व्यक्त गर्नु भयो । उहाँले दुवै देश प्राकृतिक, मानव संशाधन लगायतका स्रोतबाट सम्पन्न भएकोले यसको उपयोगबाट द्रुत आर्थिक विकास गर्न सकिने विचार व्यक्त गर्नु भयो ।
अर्थमन्त्री खतिवडाले नेपाल र बंगलादेशले अतिकम विकसित मुलुकको मञ्च, सहस्राब्दी विकास लक्ष्य र दिगो विकास लक्ष्य निर्माणको चरणमा सहकार्य गरेको स्मरण गर्नु हुँदै अन्तर्राष्ट्रिय र क्षेत्रीय सवालमा समान धारणा राख्ने राष्ट्र भएकोले सहकार्य हुनसक्ने साझा विषयमा हातेमालो गर्दै अगाडि बढ्नुपर्नेे बताउनुभयो ।
उहाँले दुवै देशले विपद् व्यवस्थापन, जलवायु परिवर्तन, श्रमिकको सुरक्षा, बसाईसराई, मानवीय सहयोग, श्रम व्यवस्थापन र शरणार्थीको व्यवस्थापन जस्ता विषयमा सहयोग र सहकार्य गर्नसक्ने अवस्था रहेको उल्लेख गर्नुभयो । उहाँले सार्कको माध्यमबाट क्षेत्रीय सहयोग तिव्र गतिमा अघि बढाउन समान भाषा र संस्कृति भएका नेपाल, भारत, बंगलादेश र भुटान बीचको उपक्षेत्रीय इकाई महत्वपूर्ण हुन सक्ने बताउनुभयो ।
अर्थमन्त्री खतिवडाले बंगलादेशले आर्थिक विकासमा गरेको प्रगतिको प्रशंसा गर्दै नेपालले पनि धेरै विषयहरुलाई आत्मसाथ गरी आर्थिक विकासको गति अघि बढाईरहेको जानकारी दिनुभयो । लघुवित्त, वित्तीय साक्षरता, वित्तीय पहुँच, मोवाइल बैंकिगंको विस्तारमा नेपालले बंगलादेशबाट धेरै सिकेको उल्लेख गर्नु हुदै अर्थमन्त्रीले कोभिड– १९ ले ल्याएको चुनौति र अवसरलाई मध्यनजर गरी सहयोगका नयाँ क्षेत्रमा सहकार्य गर्न आव्हान गर्नुभयो ।
अर्थमन्त्रीले महामहिम राजदूतको नेपालको कार्यकाल सफल रहेकोमा खुशी व्यक्त गर्र्दै आगामी दिनमा समेत सहकार्य हुने अपेक्षा सहित सफल यात्राको कामना गर्नुभयो ।
भेटका अवसरमा राजदुत साम्सले बंगलादेश नेपालसित क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा संगै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले दुई देशबीच व्यापार, उर्जा सहयोग, लगानी लगायतका क्षेत्रमा सहकार्य गर्न आवश्यक रहेको धारणा राख्दै सहुलियतपूर्ण र सौविध्य प्राप्त व्यापारको माध्यमबाट समृद्धिका लागि कार्य गर्न सकिने बताउनुभयो । वातावरणीय संवेदनशिलता सम्बन्धी मञ्च, कोलम्बो मञ्च, सगरमाथा सम्बाद जस्ता मञ्चको उपयोग गरी द्विपक्षीय हितमा कार्य गर्न अनुरोध गर्दै महामहिमले नेपाल बंगलादेश बीचको पाँच दशक लामो साझेदारी र सहकार्यलाई थप सुदृढ गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
महामहिम राजदूतले नेपालमा ७ बर्षको सफल कार्यकाल समापन पछि बंगलादेशको विदेश मन्त्रालयमा फर्कन लागेको र यस अवधिमा नेपालले आफ्नो कार्य सम्पादनमा पुर्याएको महत्वपूर्ण सहयोग र हार्दिकतापूर्ण समन्वयका लागि धन्यवाद दिनुभयो ।

Facebook Comments