अमानवीय व्यवहार राेकाैं

काठमाडाैं । कोरोनाको कहरले सिङ्गो विश्व नै आक्रान्त भइरहेको अवस्थामा नेपालमा पनि कोरोना भाइरसको महामारी तिब्र गतिमा फैलिइरहेको छ । सरकारले बन्दाबन्दी फिर्ता लिए लगतै कोरोना संक्रमणको दर तिब्र गतिमा फैलिएपछि हाल काठमाडौंलगायत मुलुकका बिभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको  छ ।
यस परिप्रेक्षमा केही क्षेत्रका स्थानीय जनसमुदायबाट स्वास्थ्यकर्मीप्रति भएका अपमान तथा आपत्तिजनक दूर्वव्यहार र सुरक्षाकर्मीद्धारा नागरिकहरुमाथि गरिएका गैरकानूनी कार्यप्रति निगरानी समितिको गम्भीर ध्यानाकर्षण भएको छ । मुलुक कोरोना भाईरसबाट आक्रान्त भएको यस विषम परिस्थितिमा आफ्नो र परिवारको जीउज्यान जोखिममा राखेर नागरिकको स्वास्थ्य र जीउज्यानको रक्षाकालागि अग्रपंक्तिमा अहोरात्र खटिदै आउनु भएका स्वास्थ्यकर्मीहरुमाथि भएका असामाजिक र अभद्र व्यवहार निन्दनीय छ । हालै, काठमाडौं, चितवन, मोरङ्ग, संखुवासभा लगायत देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मीहरुमाथि भएका अमानवीय व्यवहार प्रति यस समितिको गम्भिर ध्यानाकर्षण भएको जनाएकाे छ ।
हालसम्म कोरोनाको औषधि पत्ता नलागेको अवस्था, प्रर्याप्त स्वास्थ्य सामाग्रीको अभाव, व्यक्तिगत स्वास्थ्य सुरक्षाको अभावका वावजुद स्वास्थ्यकर्मीहरु अहोरात्र अग्रमोर्चामा खटिइरहेको अवस्थामा उहाँहरुको मनोबल उच्च बनाउनु पर्ने, हौसला दिनु पर्ने, सुरक्षा प्रदान गर्नु पर्नेमा आफ्नो टोल छिमेकमा बस्न नदिने, घर छिमेकबाट हिड्न नदिने, अभद्र व्यवहार गर्ने, हातपात गर्ने, घर सिल गर्ने धम्की दिने, प्रहरी पठाएर खेदाउने धम्की दिने जस्ता घटनाका दोषीहरुउपर कारवाही गर्न, स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रत्याभूति गर्न र यस्ता घटनाहरु नदोहोरिने सुनिश्चित गर्न निगरानी समिति सरकार समक्ष माग गरेकाे छ ।
साथै अत्यावश्यक कामका लागि घरबाहिर निस्केका नागरिकहरुलाई सुरक्षाकर्मीहरुले कान समाएर उठबस गर्न लगाउने, चर्को घाममा होल्डिङ्ग सेन्टरमा घण्टौं उभिन लगाउने, गाली गलौज गर्ने र हातपात  गर्ने कार्य निन्दनीय छ । यस्ता घटनामा संलग्न सुरक्षाकर्मीहरुलाई  कारवाही गर्न र यस्ता प्रकृतिका घटनाहरु नदोहोरिने प्रत्याभूत गर्न समिति सरकार समक्ष जोडदार माग गरेकाे छ ।

Facebook Comments