काठमाडौं । ड्रिलिङ उपकरण खरिदका लागि वागमती इन्टरप्राईजेजलाई २०७४ सालमा ७० लाखको काम दिइएको थियो । उक्त ७० लाखको काम मात्र नभइ म्याद गुज्रिसकेपछि थप (भेरिएसन) ७ लाख दिइएको थियो । सो कार्य टेण्डर प्रकृयाबाटै ड्रिलिङ उपकरण खरिद कार्यका लागि दिइएको हो । माटो ढुंगाका तत्कालिन डाइरेक्टर सागरराज सुवालको समयमा टाक्क टुक्क मिलाएर टेण्डर गरिएको थियो ।
वागमती इन्टरप्राईजेज प्राधिकरणका केही पूर्व कर्मचारी मिलेर खोलेको संस्था हो भन्ने स्रोतको दावी छ । यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परेको र अख्तियारले २०७६ असोजमा यस बारे प्राधिकरणलाई विवरणसहितको पत्र काटेको थियो । त्यसपछि प्राधिकरण व्यवस्थापनले राजबहादुर विष्टको संयोजकत्वमा समिति बनाएको थियो । उक्त समितिले हालसम्म प्रतिवेदन दिएको छैन । समितिले व्यवस्थापनको दवावमा प्रतिवेदन नबुझाएको कुरा जानकारीमा आएको हो ।
संयोजक विष्टले हामी छानविनको क्रममा छौं । फाइनल ड्राफ्ट भएको छैन भन्ने बताउनु भयो । २०७७ जेठमा समिति गठन भएर काम शुरु भयो । टेण्डरका कागजात मगाएर छानविन शुरु गरेका छौ । छानविन गर्दै जाँदा टिप्पणी, आदेश, दर्ता, चलानीदेखि पत्राचारलगायतका कागजात मगाएर केलाएर हेर्ने काम भइरहेको छ । कोभिडका कारण कहिले को त कहिले को नहुने भएकाले ढिला भइरहेको छ । सम्पूर्ण कागजात केलाएर निष्कर्षमा पुग्नु पर्ने हुन्छ । उहाँले प्रतिक्रियासहितको प्रतिवेदन दिनु पर्ने भएकाले विस्तृत छानविनका लागि अलि बढी समय लागेको बताउनु हुन्छ ।
हालै ढल्केबर ग्रीडको हाकिम रितेश गुप्ता कागजात नखुलेको करोडभन्दा बढीको चेक बोकेर काठमाडौं आउँदै गर्दा अख्तियारको टोलीले गिरफ्तार गरी छानविन शुरु गरेको छ । २५ मेगावाटको सोलार ग्रीड प्रोजेक्टमा गडबडी भएपछि अख्तियारले सम्पूर्ण कागजात खिचेर छानविन गरिरहेको छ । साे मुद्दामा एमडी कुलमान घिसिङ, पूर्व एमडी मुकेश राज काफ्ले, पूर्व डिएमडी गोपाल बाबु भट्टराई, तथा अर्थ निर्देशनालयका डिएमडी लेखनाथ कोईरालालाई बयानका लागि बोलाइएको छ । यस्तै गरेर नुतन भट्टराई, पद्मकान्त झा, विजय चौधरी र लेखा अधिकृत उमेश भण्डारीलाईसमेत बयानका लागि बोलाइएको छ । यी मध्ये रामचन्द्र, नुतन र विजयले बयान दिइ सकेको बताइएको छ ।
Facebook Comments